रास्वपा कार्यवाहक सभापति अर्यालविरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करी आरोपमा छानबिन माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति तथा सांसद डोलप्रसाद अर्याल (डिपी) विरुद्ध भिजिट भिसाको दुरुपयोग र मानव तस्करीको विषयमा गहिरो छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता भएको छ।
आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका युवराज सफलले कार्यवाहक सभापति अर्यालविरुद्ध यो उजुरी दर्ता गराएका हुन्।
सफलले प्रतिनिधिसभाको गत असार १५ गतेको बैठकमा सांसद अर्यालले आफू सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा.ली. को सञ्चालक रहेको र वर्षौँदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाउँदै आएको सार्वजनिक रूपमा स्विकारेपछि उजुरी दर्ता गरेको बताएका छन्।
सफलले कार्यवाहक सभापति अर्यालले सदनमा दिएको जवाफलाई नै आधार बनाएर उनको कम्पनीमार्फत विदेश पठाइएका नागरिकहरूको प्रक्रिया, कागजात र वैधानिकताका विषयमा गहिरो छानबिन आवश्यक रहेको तर्क गरेका छन्।
उनले दर्ता गराएको निवेदनमा भनिएको छ, ‘भिजिट भिसाको नाममा ‘सेटिङ’ गरेर त्रिभुवन विमानस्थल हुँदै नागरिक विदेश पठाइएका प्रमाणहरू सार्वजनिक भइसकेका छन्। यस्तो अवस्थामा अर्यालको कम्पनीले कागजात पूरा गरेर नागरिक पठाएको कुरा स्वीकार्न सकिँदैन।’
उक्त उजुरीमार्फत सांसद डिपी अर्यालसहित सुमिरे टुर्स एण्ड ट्राभल्सका अन्य सञ्चालकलाई समेत कानुनी दायरामा ल्याई दोषी ठहरिएमा प्रचलित कानुनबमोजिम हदसम्मको कारबाही गर्न माग गरिएको छ।
असार १७, २०८२ मंगलबार ११:३७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।