दूधमा आत्मनिर्भर काभ्रे, ७० प्रतिशत काठमाडौं निर्यात

दूधमा आत्मनिर्भर काभ्रे, ७० प्रतिशत काठमाडौं निर्यात
फाइल तस्बिर

काभ्रेपलाञ्चोक : दूध उत्पादनमा आत्मनिर्भर बनेको काभ्रेबाट उत्पादितमध्ये करिब ७० प्रतिशत दूध संघीय राजधानी काठमाडौँसहित अन्य जिल्लामा निर्यात हुने गरेको छ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार काभ्रेमा वार्षिक करिब १४ करोड ९२ लाख ८० हजार लिटर दूध उत्पादन हुने गरेको छ। यो उत्पादन १ लाख ४७ हजार ८७४ गाई र १ लाख ३८ हजार ४९९ भैँसीबाट भएको हो।

कार्यालयको तथ्याङ्कअनुसार हाल जिल्लामा ४३ हजार १०७ दूधालु गाई र ५९ हजार ३२० दूधालु भैँसी छन्। यीमध्ये २३ हजार ८३५ स्थानीय जातका गाई र १९ हजार २७२ उन्नत जातका छन्।

भैँसीतर्फ ३४ हजार ३४० स्थानीय र २४ हजार ९८० उन्नत जातका दूधालु भैँसी रहेका छन्। कार्यालय प्रमुख डा. सृजा वाग्लेका अनुसार पछिल्लो समय जिल्लामा दुग्ध बिक्रीबाट भित्रने रकमबारे आधिकारिक तथ्याङ्क सङ्कलन भइरहेको छ।

जिल्लाको पनौती, बनेपा, मण्डनदेउपुर र पाँचखाल नगरपालिका सबैभन्दा बढी दूध उत्पादन हुने क्षेत्र हुन्। विसं २००९ देखि दूध बिक्री हुँदै आएको यस जिल्लालाई २०७३ साल साउनमा ‘दूधमा आत्मनिर्भर जिल्ला’ घोषणा गरिएको थियो।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष नारायण प्रसाद बडालका अनुसार उत्पादित दूध तथा दुग्धजन्य पदार्थमध्ये ३० प्रतिशत जिल्लामै खपत हुने गरेको र बाँकी काठमाडौँलगायत अन्य जिल्लामा पठाइने बताए।

उनले अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट ७० सहकारी संस्था र एक सयभन्दा बढी निजी तवरबाट दूध सङ्कलन हुँदै आएको छ।

१३ स्थानीय तहमध्ये डाडाँपारिका खानीखोला, महाभारत र कोशीपारिस्थित चौँरीदेउराली तथा भुम्लु गाउँपालिकाबाट भने तरल दूध बजारमा आउँदैन। सङ्घका अनुसार यी क्षेत्रबाट मख्खन, छुर्पी, खुवा, पनिरजस्ता दुग्धजन्य पदार्थ आउने गर्छ।

यसैबीच, सरकारले जारी गरेको दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ कार्यान्वयनमा कठिनाइ देखिएको छ।

नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले पटकपटक अनुगमन गरी सचेत गराए पनि जिल्लाका अधिकांश व्यवसायीले अझै प्लाष्टिकका भाँडामा दूध ढुवानी गरिरहेका छन्।

निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध ढुवानी तथा भण्डारण गर्न र बासी दूध बिक्री गर्न पाइँदैन।

असार १७, २०८२ मंगलबार ०९:५०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।