भारतमा रसायन कारखानामा विस्फोट : २७ जनाको मृत्यु, ३५ जना घाइते

एजेन्सी : भारतको तेलङ्गना राज्यको संगारेड्डी जिल्लास्थित पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार एक रसायन कारखानामा भएको विस्फोट र त्यसपछि फैलिएको ठूलो आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ।
दुर्घटनामा ३५ जना घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रशासनका अनुसार, सिगाची केमिकल्स नामक सो कारखानामा भएको यस दुर्घटनामा मृत्यु भएका २७ मध्ये चार जनाको पहिचान भइसकेको छ। बाँकी २३ जनाको पहिचान गर्ने प्रयास भइरहेको छ।
जिल्ला प्रशासनले दिएको जानकारी अनुसार, घटनापछि २४ जना अझै बेपत्ता छन् र उनीहरूको खोजी कार्य जारी छ। यसैबीच, ५७ जनालाई सकुशल उद्धार गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्री राहत कोषबाट मृतकका प्रत्येक परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ अनुग्रह राहत उपलब्ध गराइने घोषणा पनि उनले गरेका छन्।
यसैबीच, बिहार सरकारले पनि यस दुर्घटनामा ज्यान गुमाएका बिहारका बासिन्दाका परिवारलाई २ लाख रुपैयाँ र घाइते भएकालाई ५० हजार रुपैयाँ प्रतिव्यक्ति क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेको छ।
असार १७, २०८२ मंगलबार ०९:१७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।