हेटौंडामा लहरी दुर्घटना, गाडीभित्रै च्यापिए चालकको मृत्यु

हेटौंडामा लहरी दुर्घटना, गाडीभित्रै च्यापिए चालकको मृत्यु

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्व–पश्चिम सडकखण्डमा आज बिहान भएको लहरी ट्रक दुर्घटनामा चालकको ज्यान गएको छ। 

भारतको गाजिपुर जिल्ला पुरैनियाका करिब ४०/४५ वर्षीय महेन्द्र यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ब्रेक फेल भएर युपी६१एटी-०९६२ नम्बरको कोइला बोकेको लहरी पल्टिँदा यादव गाडीभित्रै च्यापिएका थिए। बिहान करिब ५ बजे दुई क्रेनको सहयोगमा उद्धार गरी हेटौंडा अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए।

दुर्घटनामा सहचालक भारतकै गाजिपुर निवासी मनोज यादव घाइते भएका छन्। 

भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि कोइला बोकी आउँदै गरेको ट्रक रातोमाटेस्थित चार्जिङ पोइन्ट नजिक ब्रेक फेल भएर सडकको दाहिने किनारमा पल्टिएको हो। 

मृतकको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ भने ट्रकलाई साइडमा सारिएको छ।

असार १७, २०८२ मंगलबार ०८:२२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।