वीरगञ्ज भन्सारबाट ११ महिनामा पाँच खर्बको आयात, भारतबाट मात्र ४ खर्ब ३४ अर्ब

वीरगञ्ज : चालु आर्थिक वर्षको पहिलो ११ महिनामा वीरगञ्ज नाकाबाट ठूलो परिमाणमा वस्तु तथा सामान आयात भएको छ।
यस अवधिमा कुल रु ५ खर्ब ६५ अर्ब ४२ करोड मूल्यका सामान आयात हुँदा निर्यात भने रु ९१ अर्ब ५१ करोडमा सीमित देखिएको छ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार, यस नाकाबाट ५० वटा मुलुकबाट आयात भएकोमा छिमेकी मुलुक भारतको हिस्सा सबैभन्दा ठूलो रहेको छ।
भारतबाट मात्र रु ४ खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन्, जुन यस नाका हुँदै भएको कुल आयातको ७६ दशमलव ८० प्रतिशत हो।
आयात हुने अन्य प्रमुख मुलुकमध्ये अर्जेन्टिनाबाट रु ४६ अर्ब ७४ करोड (८.२७ प्रतिशत) र चीनबाट रु २८ अर्ब ८६ करोड मूल्यका सामान आयात भएका छन्।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले यस नाका हुँदै हुने वैदेशिक व्यापारमा भारतको हिस्सा सबैभन्दा धेरै रहेको बताए।
सोही अवधिमा वीरगञ्ज नाकाबाट कुल रु ९१ अर्ब ५१ करोड मूल्यका वस्तु तथा सामान विदेश निर्यात भएका छन्।
निर्यातको सबैभन्दा ठूलो हिस्सा पनि भारतले ओगटेको छ, जहाँ रु ८६ अर्ब ९७ करोड (कुल निर्यातको ९५ दशमलव ०५ प्रतिशत) बराबरको निर्यात भएको छ। निर्यात हुने अन्य प्रमुख मुलुकमा अमेरिका (रु २ अर्ब १८ करोड वा २.३८ प्रतिशत) र अफगानिस्तान (रु ६८ करोड) रहेका छन्।
असार १७, २०८२ मंगलबार ०७:५८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।