मदनमाथि बहुपत्नी र सहकारी ठगीको आरोपबारे ईश्वर पोखरेलले भने 'मलाई अहिलेसम्म थाहा छैन'

मदनमाथि बहुपत्नी र सहकारी ठगीको आरोपबारे ईश्वर पोखरेलले भने 'मलाई अहिलेसम्म थाहा छैन'

काठमाडौं : मदन भण्डारीको जन्मदिनमा आयोजित कार्यक्रममा उनका विरोधीहरूले समेत अहिलेसम्म नलगाएको दुई प्रसङ्ग निकाले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले।

उनले मदन पत्नी विद्या भण्डारीकै सामु मदनमाथि चार श्रीमती  र सहकारी ठगीको आरोपसम्म लागेको भन्दै प्रतिवाद गरेका थिए।

राजनीतिको क्रममा अनेक आरोप लाग्नु स्वाभाविक हो। तर यी दुवै आरोप मदनमाथि पहिलो पटक लागेको थियो।

यी दुवै आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लाग्दै आएका छन्। अहिले उनी दोस्रो श्रीमतीसँग छन्। विवाह नगरी अमेरिकामै एक महिलासँगको सम्बन्धबाट सन्तान जन्मिएको विषय उनले नै स्वीकार गरे पनि चौथो श्रीमतीको आरोप छैन उनीमाथि। सहकारी ठगीमा अभियोग लागेर उनी पुर्पक्षमा थुनामा छन्।

ओलीले जुन आरोप लगाए कतै रवि लक्षित हो कि भन्ने नदेखिएको हैन, तर उनले कार्यक्रममा प्रस्ट मदन भण्डारीको नाम लिएका थिए।

यो आरोपबारे एमालेका, त्यसमा पनि विद्या समूहका नेताहरूले पनि सार्वजनिक रूपमा कुनै प्रतिवाद गरेनन्। सञ्जाल र मिडियामा भने अनेक कोणबाट चर्चा भयो।

पछिल्लो समय विद्या समूहमा लागेको दाबी गरिएका नेता ईश्वर पोखरेलले पहिलो पटक यसबारे बोले। कान्तिपुर टिभीको कार्यक्रम फायर साइडमा रुपेश श्रेष्ठसँग कुरा गर्दै उनले आफूले पनि मदनमाथिको यो आरोप पहिलो पटक सुनेको बताए।

मदनसँग लामै समय संगत गरेका उनले कम्युनिस्ट नेतामाथि लाग्ने अनावश्यक आरोपबारे बोल्ने क्रममा पार्टी अध्यक्ष ओलीले सो प्रसङ्ग बोले पनि त्यसबारे आफूलाई जानकारी नभएको बताए।

२०४६ को राजनीतिक परिवर्तन अगाडि नै सहकारी भए पनि नेपालमा सहकारी सम्बन्धी कानुन २०४८ मा आएको थियो। नियमावली २०४९ मा आएको थियो। मदन २०५० जेठ ३ को दासढुंगा दुर्घटनामा मारिएका थिए।

जुन बेलासम्म मदन बाँचे त्यो बेलामा अहिले जस्तो सहकारी नभएको र उनी कुनै सहकारीमा संलग्न रहेको आफूलाई जानकारी नभएको उनले बताए।

चार श्रीमतीको आरोपबारे उनी प्रवेश गरेनन्। तर प्रारम्भिक समयबाटै आफू मदनको नजिक रहेको भन्दै आरोप असत्य भएको बताए।

असार १६, २०८२ सोमबार २२:४२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।