इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९ सय ३५ जनाले गुमाए ज्यान

इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९ सय ३५ जनाले गुमाए ज्यान

तेहरान : इजरायलसँग १२ दिनसम्म चलेको भीषण युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएका छन्। युद्धविराम लागू भएको करिब एक सातापछि इरानी सरकारी सञ्चारमाध्यमले सोमबार यो विवरण सार्वजनिक गरेको हो।

‘सियोनवादी शासनद्वारा थालिएको १२ दिने युद्धमा हालसम्म ९ सय ३५ जना शहीदको पहिचान भइसकेको छ,’ न्याय परिषद्का प्रवक्ता असगर जहाङ्गीरलाई उद्धृत गर्दै सरकारी समाचार संस्था इरनाले जनाएको छ।

मृतकमध्ये १३२ जना महिला र ३८ जना बालबालीका छन्। इरानी पक्षका अनुसार जुन १३ देखि इजरायलले इरानका सैनिक शिविर, आणविक अनुसन्धान केन्द्र र बासोबास क्षेत्रहरूलाई निशाना बनाउँदै बम आक्रमण सुरु गरेको थियो। ती आक्रमणमा उच्चपदस्थ सैन्य अधिकारी र वैज्ञानिकहरूको पनि ज्यान गएको बताइएको छ।

जवाफमा इरानले मिसाइल र ड्रोनमार्फत इजरायलका विभिन्न प्रमुख सहरहरूमा हमला गरेको थियो। इजरायली स्रोतका अनुसार ती आक्रमणमा २८ जनाको मृत्यु भएको थियो।

दुवै मुलुकबीच तनाव उत्कर्षमा पुगेपछि अन्ततः जुन २४ मा युद्धविराम लागू गरिएको हो।

असार १६, २०८२ सोमबार २१:५५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।