सर्वाधिक कमाइ गर्ने २५ मध्ये ८ फिल्ममा विजय बराल

सर्वाधिक कमाइ गर्ने २५ मध्ये ८ फिल्ममा विजय बराल

काठमाडौं : चलचित्र विकास बोर्डले देशभित्र सर्वाधिक कमाइ गर्ने २५ वटा नेपाली फिल्मका निर्माता र टिमलाई सम्मान गरेको छ। सोमबार बोर्ड स्थापनाको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा विगत २५ वर्षमा व्यापारिक रूपमा सफल नेपाली फिल्महरूलाई सम्मान गरिएको हो।

सर्वाधिक कमाइ गर्ने २५ फिल्ममध्ये आठवटा फिल्ममा कलाकार विजय बरालको अभिनय रहेको छ। बराल अभिनीत ‘पूर्णबहादुरको सारंगी’ले ४६ करोड ८७ लाख ४१ हजार ४९७ रुपैयाँ ग्रस कमाइ गर्दै अहिलेसम्मकै सबैभन्दा बढी कमाउने नेपाली फिल्म बनेको हो।

यसैगरी, उनी अभिनीत ‘कबड्डी’देखि ‘कबड्डी ४’ सम्मका सिरिज, ‘जारी’, ‘दिमाग खराब’ र ‘अञ्जिला’ समेत शीर्ष २५ कमाइ गर्ने फिल्ममा परेका छन्।

बरालका अनुसार आफ्नो अभिनय रहेको ८ वटा फिल्मले शीर्ष कमाइ गर्ने सूचीमा स्थान पाउनु गर्वको कुरा हो। ‘चलचित्र विकास बोर्डको २५ औँ वर्ष प्रवेशको रजत जयन्तीमा आफ्ना आठ फिल्मले स्थान पाउनु अत्यन्तै खुशीको विषय हो,’ उनले भने, ‘बोर्डको यो सम्मानले हामी सबैलाई थप हौसला मिलेको छ।’

उनले सोमबारदेखि लागू भएको ‘बक्स अफिस एप’लाई पारदर्शिता तर्फको नयाँ सुरुआतका रूपमा लिएका छन्। त्यस्तै, नेपालकै पहिलो फिल्म ‘आमा’को पोस्टर हुलाक टिकटमा प्रकाशन गर्ने तयारीलाई राज्यबाट फिल्म क्षेत्रप्रतिको सम्मानको रूपमा वर्णन गरेका छन्।

समारोहमा प्रस्तुत २५ फिल्ममध्ये सबैभन्दा कम कमाइ निर्देशक दीपेन्द्र के खनालको ‘भस्मे डन २’ को रहेको थियो, जसले ७ करोड ३२ लाख २० हजार ७११ रुपैयाँ ग्रस कमाइ गरेको छ।

असार १६, २०८२ सोमबार २१:३९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।