
'माग्ने राजा'को टिजरमा प्रतिक्रिया ‘माग्ने धनी हुने भए, निर्माता माग्ने’

काठमाडौं : यतिबेला कलाकारको पारिश्रमिकले नेपाली फिल्मी बजार तातेको छ। अन्य कलाकारको पारिश्रमिक ५० लाखभन्दै सुरु भएको चर्चा सेलाएको बेलामा केदार घिमिरे (माग्ने बुढा)ले फिल्म 'माग्ने राजा'मा ६१ लाख लिएको निर्माताको दाबीपछि यसैले बजार पिटेको छ।
फिल्म 'छक्का पन्जा'मा "हल्का रमाइलो" भन्दै दर्शक हँसाउन थालेका उनले पाएको यो पारिश्रमिक सत्य हो भने अहिलेसम्म नेपाली कलाकारले पाएको सबैभन्दा उच्च पारिश्रमिक हुन जान्छ। तर विश्वास गरिहाल्ने अवस्था भने छैन यसमा।
सोमबार त्यही फिल्मको टिजर युट्युबमा रिलिज भएपछि चर्चा त्यही पारिश्रमिककै छ। केही दर्शकले "६१ लाख पारिश्रमिक लिएका मग्नेले आफूलाई धनी बनाउने भए पनि टिजरको शैलीले भने लगानीकर्ता माग्ने बन्ने जोखिम रहेकोसम्म कमेन्ट आएका छन्।
एक साताअघि यस फिल्मका निर्माता मुनाल घिमिरेले माग्नेलाई ६१ लाख दिएर फिल्म खेलाएको दाबी गरेका थिए। त्यसपछि अहिले दर्शकले समेत केदारलाई "६१ लाखे" भन्न थालेका छन्। यो समाचार तयार पार्दासम्म ८ सय ४६ जनाले कमेन्ट गरेका छन्। जसमा अधिकांशले केदारको पारिश्रमिक ६१ लाख डुबायो भन्नै लेखेका छन् भने कोहीकोही फिल्म हेर्न आतुर रहेको लेखेका छन्।
टिजर रिलिज भएको ६ घण्टामा दर्शकले एक लाख ५० हजारभन्दा बढी पटक हेरेका छन् भने लाइक ८ हजारभन्दा बढी छ।
केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजरमा माग्नेलाई श्रीपेच लगाएकोसम्मका दृश्य समेटिएका छन् भने "हल्का रमाइलो" भन्ने थेगो छुटेको छैन। फिल्ममा समावेश संवाद भारतीय फिल्म ‘धमाल’बाट प्रेरित देखिन्छ।
केदार घिमिरे र विल्सन विक्रम राईबीच मामा भान्जाको सम्बन्धमा राखिएको छ। विल्सन र केदार घिमिरेको जोडी टेलिभिजनको पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडीको रूपमा परिचित छन्। पौने दुई मिनेट लामो टिजरमा वर्षा शिवाकोटी र शिशिर वाङ्देल पनि अटाएका छन्।
आरम्भ प्रोडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसूदन शर्मा निर्माता रहेको यस फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन्। उनी ८ वर्षपछि यो फिल्ममार्फत कमब्याक गरेका छन्।
यसअघि उनको फिल्म 'किस्मत २' प्रदर्शनमा आएको थियो। सामी पराजुली र सामीप्य तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पार्श्व संगीत र मित्र गुरुङको सम्पादन रहेको यो फिल्मको टिजर साहिल खानले तयार गरेका हुन्। फिल्म आगामी भदौ ६ मा रिलिज हुने निर्माण पक्षको भनाइ छ। फिल्म आरआर फिल्मले वितरण गर्दैछ।
असार १६, २०८२ सोमबार २१:०७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।