कांग्रेसमा अझै सकिएन अन्तर्घातको मुद्दा, विक्रम खनाललाई कारबाही गर्न अनुशासन समितिमा प्रस्ताव

काठमाडौं : २०७९ को निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालमाथि कारबाही प्रक्रिया अगाडि बढेको छ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार हराउन प्रत्यक्ष भूमिका खेलेको भन्दै खनालमाथि कारबाही लागि पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो। पश्चिम नवलपरासी १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरी, प्रदेश सभा उम्मेदवार देवकरण कलवार र क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार देवेन्द्रराज कँडेललाई हराउन प्रदेश महामन्त्री खनालसहितका नेताहरूको प्रत्यक्ष भूमिका रहेको आरोप लाग्दै आएको छ।
खनालसहितका नेताहरूलाई कारबाही लागि अनुशासन समितिमा सांसद चौधरी, केन्द्रीय सदस्य कँडेल, प्रदेश सभा सदस्य कलवार सन्तु र महासमिति सदस्य लालबहादुर गुरुङले उजुरी दिएका थिए।
अनुशासन समिति सदस्य सञ्जय गौतमले पार्टीमा अनुशासनहीनता बढेको र आधिकारिक उम्मेदवार हराउन खोज्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै खनालमाथि समिति बैठकमा कारबाहीको प्रस्ताव गरेका थिए। अनुशासन समितिले सर्वसम्मत रूपमा खनालमाथि कारबाही लागि प्रस्ताव गरेको स्रोतले बतायो।
समितिले खनाललाई कारबाही गर्नुपर्ने निष्कर्ष निकाल्दै पार्टीमा निलम्बनको प्रस्ताव गरिसकेको छ। सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। समितिले निर्वाचनमा पार्टीविरुद्ध उम्मेदवारी दिनेदेखि आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्ने विभिन्न जिल्लाका नेता कार्यकर्ताहरूलाई कारबाहीको सिफारिस गरेको छ।
केन्द्रीय सदस्य आनन्द ढुंगानाको संयोजकत्वमा गठित पाँच सदस्यीय अनुशासन समितिमा शेखर कोइराला समूहबाट राजीव कोइराला र गौतम सदस्य छन्। संस्थापन समूहबाट सदस्यमा ईश्वरी न्यौपाने र ध्रुव वाग्ले छन्।
असार १६, २०८२ सोमबार २०:४०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।