ग्यालेक्सी एआई र प्रिमियम साउन्डसहितको ग्यालेक्सी बड्स कोर नेपाली बजारमा

ग्यालेक्सी एआई र प्रिमियम साउन्डसहितको ग्यालेक्सी बड्स कोर नेपाली बजारमा

काठमाडौं : सामसङले नेपाली बजारमा आफ्नो अहिलेसम्मकै सबैभन्दा सस्तो ट्रू वायरलेस इयरफोन ‘ग्यालेक्सी बड्स कोर’ सार्वजनिक गर्ने घोषणा गरेको छ। मंगलबारबाट बिक्री सुरु हुने यो इयरबड्स नेपाली उपभोक्तालाई ७ हजार ३ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ।

कम्पनीका अनुसार कालो र सेतो रंगमा उपलब्ध ग्यालेक्सी बड्स कोर देशभरका अधिकृत सामसङ खुद्रा स्टोरमार्फत किन्न सकिनेछ।

सामसङले यो नयाँ बड्सलाई ‘सस्तो मूल्यमा स्मार्ट सुविधा’ भन्ने नारासहित ल्याएको छ। ग्यालेक्सी बड्स कोरमा गहिरो बाससहितको प्रिमियम साउन्ड, एक्टिभ नॉइज क्यान्सिलेशन र ग्यालेक्सी एआईको ‘इन्टरप्रेटर’ सुविधा जडान गरिएको छ।

डाइनामिक ड्राइभरको प्रयोगले यो बड्सले स्पष्ट र डुबुल्की मार्ने आवाज प्रदान गर्छ भने तीन वटा माइक्रोफोनको संयोजनले बोलाइको स्पष्टता सुनिश्चित गर्छ। यसले भीडभाडमा पनि फोन कल र मिटीङ सहज बनाउँछ।

साथै, ग्यालेक्सी बड्स कोरमा रहेको ‘ग्यालेक्सी एआई इन्टरप्रेटर’ सुविधाले प्रयोगकर्तालाई अनुहार–मुख गरेर हुने संवादमा तुरुन्तै दुईतर्फी भाषा अनुवाद सेवा प्रदान गर्छ। प्रयोगकर्ताले आफ्नो भाषामा बोलेपछि अर्कोपक्षलाई अनुवादित उत्तर सुनाइन्छ, जसले अन्तरक्रिया अझ सहज बनाउँछ।

पानी र धुलो प्रतिरोध गर्ने आईपी ५४ रेटिङ, टच कन्ट्रोल, मल्टिडिभाइस कनेक्टिभिटी, अटो स्विच, ब्लुटुथ ५.४ जडान सुविधा र स्यामसङ फाइन्ड एपमार्फत ‘फाइन्ड माई इयरबड्स’ जस्ता अत्याधुनिक फिचरले यो डिभाइसलाई दैनिक जीवनका लागि थप उपयोगी बनाएको छ।

एकपटक चार्ज गरेपछि इयरबड्सले केससहित ३५ घण्टासम्म र एक्टिभ नॉइज क्यान्सिलेशन प्रयोग गर्दा २० घण्टासम्मको ब्याट्री ब्याकअप दिने सामसङको दाबी छ।

असार १६, २०८२ सोमबार २०:१८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।