नागार्जुनको निलम्बित मेयर बस्नेत र पद्म कोलोनीका प्रमुख कँडेललाई आठ वर्ष कैद

नागार्जुनको निलम्बित मेयर बस्नेत र पद्म कोलोनीका प्रमुख कँडेललाई आठ वर्ष कैद

काठमाडौं : विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष तीन महिना कैद सजाय सुनाएको छ। अदालतले उनलाई यस अगाडि नै दोषी ठहर गरे पनि सोमबार सजाय सुनाएको हो। पद्म कोलोनीलाई जग्गा दिँदा उनले घुस खाएको अभियोग लागेको थियो।  

उनी विरुद्ध ९ करोड २२ लाख ४६ हजार घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ मा मुद्दा दायर गरेको थियो। सोमबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दुई कसुरमा दोषी ठहर गर्दै ८ वर्ष ३ महिना कैद सजायको फैसला गरेको हो। 

भ्रष्टाचार गरेको कसुरमा उनलाई आठ वर्ष कैद भएको हो भने सार्वजनिक पदमा बसेर भ्रष्टाचार गरेकोमा थप तीन महिना कैद सजाय तोकिएको हो। अदालतले बिगो बराबरको रकम जफतसँगै थप २ करोड ३० लाख जरिवानाको फैसला समेत गरेको छ। अदालतले बस्नेतको २६ करोड २५ लाखको सम्पत्तिसँगै घुस बापत लिएको जग्गा समेत जफतको समेत फैसला गरेको छ।

पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजु प्रसाद कँडेल समेत दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको छ। उनलाई अदालतले बिगो असुल र २ करोड ३० लाख जरिवाना समेत गरेको छ। 

अदालतले बस्नेतलाई १ करोड ५ लाख रुपैयाँ र पद्मा कोलोनीका सञ्चालक कँडेललाई ९ लाख २२ हजार रुपैयाँ पीडित राहत संकलन कोषमा भराउने समेत फैसला गरेको छ। निलम्बित मेयर बस्नेतकी श्रीमती उर्मिलाले भने सफाइ पाइन्।

असार १६, २०८२ सोमबार २०:१८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।