सातमध्ये चार भातृ संगठनको महाधिवेशन गर्न कांग्रेस बैठकमा प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको जारी केन्द्रीय समिति बैठकमा चार भ्रातृ संस्थाको महाधिवेशनको मिति प्रस्ताव गरेका छन्। उनले तीन भ्रातृ संस्थाको निर्देशन समितिले महाधिवेशन गर्न प्रस्ताव गरेको मिति सोमबारबाट सुरु भएको बैठकमा पेस गरेका हुन्।
उनले नेपाल किसान संघ, थारु संघ, लोकतान्त्रिक खेलकुद संघ र तरुण दलका निर्देशन समितिले महाधिवेशनका लागि पेस गरेको मिति प्रस्ताव गरेका छन्। किसान संघले भदौ ३ , थारु संघले असोज २५ , लोकतान्त्रिक खेलकुद संघले भदौ २० र २१ र तरुण दलले मङ्सिर २६ देखि २८ सम्म महाधिवेशन गर्न मिति प्रस्ताव गरेको थियो।
पार्टीले यस अगाडि नै ७ भ्रातृ संस्थाको निर्देशन समितिलाई चैत मसान्तसम्म महाधिवेशन गर्ने समय तोकेको थियो। तर उनीहरूले महाधिवेशन नै गर्न सकेका छैनन्।
पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक भइरहेको समयमा बाहिर भने महाधिवेशनको माग राख्दै नेपाल विद्यार्थी संघ, नेपाल महिला संघका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् भने नेपाल तरुण दलका दुई केन्द्रीय सदस्य अनशनमा बसेका छन्।
असार १६, २०८२ सोमबार १९:५८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।