केन्द्रीय समिति बैठकमा देउवालाई शेखरले सोधेका यी प्रश्न

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठाएका छन्।
पार्टीको केन्द्रीय समिति बैठकमा सोमबार बोल्दै कोइरालाले एमालेसँगको गठबन्धनमा कांग्रेसको नेतृत्व किन भएन भन्नेमा पनि असन्तुष्टि जनाए। ‘म कांग्रेस–एमाले गठबन्धनको पक्षमा थिएँ, तर नेतृत्व कांग्रेसले लिनुपर्थ्यो भन्ने मेरो धारणा थियो,’ उनले भने,‘तर एमाले अध्यक्ष प्रधानमन्त्री बन्नुभयो। किन?’
उनले सभापतिसँग सात बुँदे सहमति अनुसार संविधान संशोधनको एजेन्डा किन ओझेलमा पर्यो, भन्दै चित्त बुझ्ने जवाफ दिन समेत आग्रह गरे। ‘यदि गठबन्धन संविधान संशोधनका लागि हो भने त्यो मुद्दा अहिले कहाँ पुग्यो?’ कोइरालाको प्रश्न थियो।
कोइरालाले पार्टीभित्रको गुटबन्दी र भागबण्डाको संस्कारले कांग्रेसलाई कमजोर बनाएको टिप्पणी गरे। उनले १४औं महाधिवेशनमा पराजित भएपछिको संयमित भूमिकाबारे स्मरण गर्दै भने, ‘मैले भागबण्डाको राजनीति गर्दिन भनेको थिएँ, तर पार्टीले मेरो सहनशीलता नै कमजोरी ठानेको छ।’
बैठकमा उनले पछिल्लो समयको निर्वाचन रणनीति र त्यसमा देखिएको राजनीतिक दिशाहीनताप्रति पनि आलोचना गरे। ‘२०७९ मा माओवादीसँग गठबन्धन गरियो, तर २०८० को उपनिर्वाचनमा तनहुँ–१ मा कांग्रेस र चितवन–२ मा एमालेका उम्मेदवारलाई समर्थन गर्दै सभापति र एमाले अध्यक्षको संयुक्त विज्ञप्ति आयो। यो के संकेत हो?’ भन्दै कोइरालाले प्रश्न उठाए।
नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतका अनुसार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै पाँच दिनसम्म चल्ने छ।
असार १६, २०८२ सोमबार १९:५२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।