‘विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोग’ घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीको सम्बोधन

स्पेन : स्पेनको सेभियामा आयोजित ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनले आयोजना गरेको ‘विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोग’ घोषणा कार्यक्रममा सम्बोधन गरेका छन्।
प्रधानमन्त्री ओलीसँगै उनका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल लगायत नेपाली प्रतिनिधिमण्डल कार्यक्रममा सहभागी थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो स्वतन्त्र आयोगले अल्पविकसित र साना मुलुकहरूमा देखिएको लगानीको अभाव पूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्नसक्ने विश्वास व्यक्त गरे।
‘यस आयोगको स्थापनाको पहलप्रति म खुसी छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यसले सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याउनुका साथै लगानीको प्राथमिकता र विश्लेषणमा सन्तुलन कायम गर्न मद्दत गर्नेछ।’
उनले पेरिस सम्झौता, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन लगायतका आधारलाई ध्यानमा राखी समग्र विश्वको आर्थिक अवस्थाको मूल्याङ्कन गर्दै आर्थिक दिगोपनामा अग्रसर हुनुपर्नेमा जोड दिए। ‘नेपाल अहिले अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा छ,’ उनले भने, ‘हाम्रा जस्ता मुलुकहरूका लागि विकासमा देखिएको आर्थिक खाडल पूर्तिका लागि विश्व आर्थिक प्रणालीको पुनरावलोकन आवश्यक छ।’
असार १६, २०८२ सोमबार १९:०४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।