पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो
Filephoto

कालीकोट : कालीकोटमा पहिरोले अवरुद्ध बनाएको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। लगातारको वर्षाका कारण शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र जिते नजिक खसेको पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो।

सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट र जिल्ला प्रहरी कार्यालयको समन्वयमा खाँडाचक्र नगरपालिका–२ को जितेबजार र गगनेखोलाको पहिरो हटाइएपछि सडक आंशिकरूपमा खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए।

‘सडक साँघुरो भएकाले दुईतर्फी सवारी सञ्चालन गर्न कठिन भइरहेको छ,’ रावतले भने, ‘डोजरमार्फत सडक चौडा पार्ने काम भइरहेको छ।’

सडक अबरुद्ध हुँदा कालीकोट सदरमुकाम मान्म, जुम्ला र मुगुबाट सुर्खेत जान छुटेका सवारीसाधन बीच बाटोमै थन्किएका थिए। यात्रुहरू सोमबार बिहानदेखि नै रोकिएका थिए।

असार १६, २०८२ सोमबार १८:४४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।