थोरै पानी पर्दा नै किन आउँछ काठमाडौँमा बाढी ?

काठमाडौं : न त अत्याधिक गर्मी न अत्याधिक जाडो। न शीतलहर पर्छ न त जनजीवन नै कष्टकर हुने गरी हिउँ नै पर्छ। ठिक्कको मौसम छ काठमाडौं उपत्यकाको। तर प्राकृतिक विपद्ले काठमाडौं उपत्यकालाई किन पो छाड्ला र ! भूकम्प त भइहाल्यो, हरेक वर्षामा समेत बाढीका कारण काठमाडौंबासीको दैनिक अस्तव्यस्त हुने गरेको छ।
गत वर्ष मात्रै बाढीले उपत्यकामा तीन दिनमा ५६ जनाको ज्यान लियो। अर्बौँका जनधनको क्षति भयो। प्राकृतिक विपद् रोक्न सकिँदैन तर विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ तर राजधानी काठमाडौंसहित सुविधासम्पन्न शहर नै अस्तव्यस्त हुने गरेको छ बर्खामा। कतिसम्म भने बाढीमा फसेकाको हवाई उद्धार समेत हुन सक्दैन यहाँ। झन् दुर्गमको अवस्था के होला!
किन यस्तो भएको होला?
शहरी संरचना योजनाबद्ध तरीकाले नभई जथाभाबी बनेकाले शहरी बाढीले सताएको तर त्यसमा सरकारले पर्याप्त काम नगरेको बताउँछन् बाढी पहिरो पूर्व सूचना अध्येता दिनानाथ भण्डारी।
‘बर्खा लागेपछि अलि अलि तयारीमा जुटे जस्तो गर्छ सरकार। सूचना प्रणालीमा केही राम्रो भएको पनि छ,’ उनले भने, ‘ तर नागरिकको जिउ र धन नै जोगाउने गरी राज्यले काम गर्न सकेको छैन।’
देशभर विपद्का घटना बढेको बढ्यै
गत वर्ष असोजमा काठमाडौँ उपत्यकामा ठूलो बाढी आयो। खोला किनारामा रहेका व्यक्तिका घर, विद्यालय, मन्दिर, अस्पताल समेत डुबायो। बाढीले उपत्यकामा मात्रै तीन दिनमा ५६ जनाको ज्यान लियो। देशभर बाढी पहिरो तथा अन्य प्राकृतिक विपद् आएका आयै छन्।
‘नेपाल डिजास्टर रिपोर्ट २०२४’ अनुसार सन् २०१८ देखि २०२४ सम्म ३२ हजार ३ सय ७५ वटा साना र ठूला विपद् घटनाहरू घटे। पछिल्लो ६ वर्षको तथ्याङ्क हेर्दा आगलागी, पहिरो, चट्याङ र भूकम्प जस्ता विपद्हरू बढेका छन्।
यस्ता घटनाहरूबाट ३ हजार ६ सय ७२ जनाले ज्यान गुमाएका छन्, ४ सय ४६ जना बेपत्ता भएका छन् र थप ११ हजार ७ सय ५२ जना घाइते भएका छन्। कुल ५७ हजार २ सय ७१ घर धुरीहरू प्रभावित भएका छन् भने ४३ हजार १ सय ६८ पूर्वाधारहरू ध्वस्त भएका छन्। साथै, १८ हजार ३ सय ३६ पशु चौपाया पनि विपद्बाट नष्ट भएका छन्।
पाँच वर्षे प्रतिवेदन अवधिमा विपद्बाट भएको कुल आर्थिक क्षति २३.६० अर्ब नेपाली रुपैयाँ देखिन्छ। बारम्बार हुने आगलागी, भूकम्प, पहिरो, चट्याङ, बाढी, भारी वर्षा र हावाहुरीजस्ता विपद्हरू ठूलो आर्थिक क्षति भएका छन्।
घटनाको सङ्ख्याका हिसाबले विभिन्न स्थानमा २ हजार ८ सय ८१ पटक पहिरो गएको छ। ज्यान गुमाउनेका हिसाबले पहिरोले मात्रै ८ सय ७८ जनाको ज्यान गएको छ भने चट्याङ बाट ४ सय ७७ जना , डुबानबाट ३ सय ४६ जना , बाढीबाट २ सय ६० जनाको ज्यान गएको छ।
सबैभन्दा धेरै मानवीय क्षति पहिरो, आगलागी, चट्याङ र बाढीबाट भएको देखिन्छ। आर्थिक क्षतिको दृष्टिले सबैभन्दा बढी आगलागीबाट, त्यसपछि क्रमशः भूकम्प, बाढी र पहिरोबाट भएको उल्लेख छ।
बर्खा याममा हुने दुई विपद्मा पहिरो र बाढी मुख्य हुन्। पहिलोमा पहिरो, ६ वर्षको समीक्षा अवधिमा नेपालमा २ हजार ७ सय ४३ वटा पहिरोका घटनाहरू भएका थिए, जसले ८ सय ५९ जनाको ज्यान लियो र अनुमानित रूपमा ७९६.९ मिलियन रुपैयाँ बराबरको आर्थिक क्षति पुर्यायो।
प्रदेशगत रूपमा हेर्दा पहिरोबाट सबैभन्दा बढी मृत्यु गण्डकी प्रदेशमा २ सय १ जना थिए, त्यसपछि बागमती प्रदेश १ सय ९४ जना र कर्णाली प्रदेश १ सय ४३ जनाको ज्यान गुमेको थियो ।
दोस्रोमा बाढी, बाढी विभिन्न कारणहरूले निम्तिन्छ, जसमा हिमालहरूमा चाँडो हिउँ तथा बरफ पग्लिनु, मनसुन समयमा (जेठदेखि असोज) मध्यम तथा भीषण वर्षा हुनु, र ग्लेसियर ताल विस्फोट पर्नु प्रमुख छन्।
६ वर्षमा नेपालले मनसुन सकिएपछि पनि असमयमै भारी वर्षा भोगेको थियो, जसकारण देशभरि बाढी र पहिरोका शृङ्खलाबद्ध घटनाहरू भए। यी घटनाहरू बालीनाली भित्र्याउने समयमा परेका कारण अन्नबाली बगाएर लगे र प्रभावित क्षेत्रमा खाद्यान्न अभाव सिर्जना गरे। साथै, प्रमुख सडक तथा पुलहरूमा समेत ठूलो क्षति पुगेको थियो।
सन् २०१८ मध्यदेखि २०२४ मध्यसम्मको ६ वर्षको अवधिमा नेपाल भर ९ सय २७ वटा बाढीका घटनाहरू भएका थिए, जसबाट २ सय ६० जनाको ज्यान गएको थियो। यी घटनाहरूबाट गण्डकी, कोशी र मधेस प्रदेशमा क्रमशः ४५, ४२, र ४१ जनाको मृत्यु भएको थियो, जुन कुल बाढीजन्य मृत्युको ४९.२३ प्रतिशत हो।
तराईमा बाढी जानु र पहाडमा पहिरो जानु स्वाभाविक भए पनि यसबाट निम्तिने मानवीय र आर्थिक क्षति न्यूनीकरण गर्न सकिन्छ तर सरकारले घटना विपद् किन बढ्दै गएको छ अनि त्यसलाई न्यूनीकरण कसरी गर्ने भन्नेमा प्रस्ट दृष्टिकोणका साथ काम गर्न सकेको देखिँदैन।
शहरी बाढी किन बढ्यो ?
काठमाडौँ उपत्यका मात्रै होइन देश भरका प्रमुख शहरहरू समेत डुबानमा पर्ने अनि बाढी आउने गरेका छन् । अध्येता भण्डारीका अनुसार शहरी बाढी आउनुको मुख्य तीन कारण छन्। पहिलो पानी सोस्ने जमिन नहुनु। काठमाडौँ उपत्यकाका प्रमुख शहरहरू कङ्क्रिटले भरिएको छ। कंक्रिटैकंङ्क्रिट भएपछि पानी जमिनमा सोसिँदैन। जसले गर्दा परेको अधिकांश पानीको भाग माथिल्लो सतहमै बग्छ र बाढी आउँछ।
दोस्रो कारण हो ५० वर्षमै नदीको चौडाइ साँघुरो हुनु। नदीको छेउछाउमा यसरी बस्ती बस्यो की नदी नै मिचेर घर बन्न थाले। अनि नदीको चौडाइलाई घटाएर नाला जस्तो बनाइयो। यसले नदी आफ्नो शैलीमा बग्न पाएन। बगेको पानी जमिनमा नसोसिई सिधै नदीमा जाने। अनि नदीको पानी बग्ने भाग पनि सानो हुँदा पानी सतहमाथि आउने नै भयो। अनि बाढीको रूप लियो।
तेस्रो कारणमा पछिल्लो समय अलि धेरै पानी पर्नु। पानी धेरै नै परे पनि यदि प्रकृतिलाई समेत ध्यान दिएर संरचनाहरू बनाउने हो भने बाढीको समस्या घटाउन सकिन्छ। तर यहाँ भएका संरचनाको संरक्षण भन्दा उल्टो बिगार्ने क्रम बढेका छन्।
सौरभ केसी, संगम श्रेष्ठ, सरावुत निनसावत र सोमचाइ चोनवट्टानाले 'जलवायु परिवर्तन र सहरीकरणका कारण काठमाडौं महानगरपालिकामा बाढीका घटनाहरूको पूर्वानुमान' शीर्षकमा जर्नल अफ इन्भाइरोन्मेन्टमा प्रकाशित गरेको अन्वेषण अनुसार शहरीकरण र जलवायु परिवर्तनले संयुक्त रूपमा शहरी बाढीको जोखिम निम्त्याउँछन्।
काठमाडौँ उपत्यकामा भूतहको र स्थानीय मौसमको परिवर्तनले वर्षाजन्य बाढी (pluvial flooding) को सम्भावना बढाइरहेको छ। शहरी बाढीमा जलवायु परिवर्तनको योगदान बढी देखिएको अन्वेषणमा उल्लेख छ।
त्यसमा बाढी विस्तार हुने सम्भावना रहेको उल्लेख छ भने गहिराइको तुलनामा क्षेत्रीय फैलावट बढी हुने देखिएको छ। २ वर्षे पुनरावृत्तिमा ०.१०–०.२५ मिटर गहिराइ भएका क्षेत्रहरूमा बाढी विस्तार हुने सम्भावना रहेको जनाएको छ। ०.२५–०.४० मिटर गहिराइ भएका क्षेत्रहरूमा बाढीको प्रवाह अझ तीव्र हुने अनुमान छ।अध्ययनले काठमाडौँ महानगर क्षेत्रमा वर्षाजन्य बाढीको जोखिम घटाउन रणनीतिक, प्रविधिमैत्री र स्रोत–अनुकूल उपायहरू अवलम्बन गर्न आवश्यक छ रहेको औँल्याएको छ।
इनु प्रधान र जीवराज पोखरेलको 'सहरीकरण र जलवायु परिवर्तनले शहरी बाढीमा पारेको प्रभाव: काठमाडौं उपत्यकाको अवस्थाको अध्ययन' अनुसन्धान अनुसार तीव्र वर्षाका घटनाहरूका समयमा शहरी ढल निकास प्रणालीहरू अत्यधिक चापमा पर्न थालेका छन्, र बढ्दो जनसङ्ख्याको कारण ती ढल निकास प्रणालीहरू आफ्नो सीमा नाघ्न थालेका छन्।
यो अनुसन्धानले जलवायु परिवर्तन र शहरीकरणको संयुक्त प्रभावलाई शहरी क्षेत्रहरूमा हुने वर्षाजन्य बाढीबारे अनुसन्धान गरेको थियो। वर्तमान शहरीकरण र भविष्यको जलवायु परिवर्तनले वर्षाजन्य बाढीको जोखिममा वृद्धि हुँदै गएको उल्लेख गरेको छ। २५ वर्षे पुनरावृत्ति अवधिका लागि, वर्तमान र भविष्यको जलवायु अवस्थालाई ध्यानमा राख्दा बाढीको मात्रा ४० प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
अहिलेको जलवायु अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको शहरी ढल व्यवस्थापन प्रणालीले भविष्यको जलवायु अवस्था सामना गर्न सक्ने छैन।
उक्त अनुसन्धानले जलवायु परिवर्तन र शहरीकरणले भविष्यमा शहरी बाढीको खतरा धेरै बढाउने छ । त्यसैले, शहरी ढल प्रणालीहरूलाई अद्यावधिक गर्नु, जलवायु अनुकूल योजनाहरू लागू गर्नु, र लचिलो पूर्वाधार विकास गर्नु पर्ने अनुसन्धानको निष्कर्ष छ ।
टालटुले योजना
बाढी आकस्मिक हैन, अहिले नियमित विपद् बनिरहेको छ। तर विपद् व्यवस्थापनमा सधैँ सक्रिय हुनुपर्ने सरकारी निकायहरू भने जब सङ्कट आइपर्छ अनि मात्र तयारीमा तात्ने गरेको देखिन्छ। यसका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समेत गठन नगरेको हैन। यसको कार्यशैली पनि उस्तै छ।
विपद्मा के तयारी छ भनेर उकेराले सोध्दा प्राधिकरणका सह सचिव बन्धु प्रसाद बास्तोलाले काठमाडौँ उपत्यकाका नदीहरू जहाँ जोखिम छन् त्यहाँ प्रहरी खटाइएको बताए। उनले देशभर बाढी आउन सक्ने स्थान पहिचान गरेर एक स्थानमा २५ जनाको दरले सशस्त्र प्रहरी खटाएको बताए।
बाढी आएमा निजी क्षेत्रका हेलिकप्टर समेत उद्धारमा परिचालन गरिने र उद्धारका लागि आवश्यक तयारी गरिएको उनको बताए।
‘हामीले अल्पकालीन रूपमा बाढी पहिरोबाट हुने मानवीय क्षतिलाई कम गराउन सूचना प्रणाली चुस्त पार्ने अनि घटना घटेको अवस्थामा उद्धार छिटो गर्ने गरी काम गरेका छौँ’, उनले भने, ‘यसपालि गत वर्षको जस्तो क्षति हुन दिने छैनौँ।’
सरकारले अल्पकालीन योजना बनाएता पनि दीर्घकालीन रूपमा शहरी बाढी कम गर्न कुनै काम प्रभावकारी तयारी गरेको भने देखिएन। उकेराले बास्तोलालाई शहरी बाढी बढ्दै गएको अवस्थामा दीर्घकालीन योजना के छन् भन्दा ‘अध्ययन अनुसन्धानले शहरी बाढी अगामी दिनमा बढ्ने बताएको तर सो अनुसार काम नभएको’ स्वीकारे।
‘दीर्घकालीन रूपमा शहरको स्वरूप कस्तो बनाउँदा बाढीले कम क्षति गर्छ भन्नेबारे काम हुनै बाँकी छ,’ उनले भने, ‘तत्काललाई कुनै दीर्घकालीन योजना बनेको छैन।’
असार १६, २०८२ सोमबार १८:४३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।