अहिले जबरजस्ती सदन चलाउनुपर्ने बाध्यता छ : सभामुख घिमिरे

अहिले जबरजस्ती सदन चलाउनुपर्ने बाध्यता छ : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले आर्थिक विधेयक असार मसान्तभित्र पारित गर्नैपर्ने संवैधानिक बाध्यताको कारण सदन जबरजस्ती पेलेरै चलाउनुपर्ने अवस्था आएको बताएका छन्।

सोमबार काठमाडौंमा संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले विरोध र अवरोधका बीचमा पनि प्रक्रिया अगाडि बढाउनैपर्ने अवस्था रहेको उल्लेख गरे। ‘वर्खे अधिवेशनमा असार मसान्तअघि आर्थिक विधेयक पास गर्नुपर्ने संवैधानिक आवश्यकता हुन्छ। त्यसैले सदनमा जस्तोसुकै अवरोध भए पनि आवश्यक संख्या पुर्याएर भए पनि पारित गर्नुपर्छ,’ उनले भने।

सभामुख घिमिरेले बजेट अधिवेशनमा पनि सांसदहरूबीच अवरोध, विरोध र पूर्वाग्रही व्यवहार कायमै रहेको उल्लेख गरे। ‘अहिले पनि बाध्यता यही हो विरोध मिलेन भने जबरजस्ती गरेर भए पनि पारित गर्नुपर्छ। प्रश्न उठ्छ, यसरी सदन चलाउन ठीक हो कि होइन ? जिम्मेवारी सरकारको हो कि प्रतिपक्षको?’ सभामुखले भने। 

उनले संसदीय व्यवस्था र प्रणालीमाथि चुनौती खडा भइरहेका बेला सबैले इमानदारीपूर्वक जिम्मेवारी बुझ्नुपर्ने आवश्यकता औंल्याए। ‘संसद् जनप्रतिनिधिहरूले कानुन बनाउने, शासन चलाउने थलो हो। यसलाई प्रभावकारी बनाउन सबै मिलेर अगाडि बढ्नुपर्छ,’ उनले भने।

असार १६, २०८२ सोमबार १८:०८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।