दिलभुषण पाठक विरुद्ध साइबर क्राइमको मुद्दा दर्ता, फरार प्रतिवादी कायम

दिलभुषण पाठक विरुद्ध साइबर क्राइमको मुद्दा दर्ता, फरार प्रतिवादी कायम

काठमाडौं : पत्रकार दिलभुषण पाठक विरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको छ। सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

युट्युब च्यानलमार्फत हिल्टन होटेलसहितमा लगानी रहेको भन्दै चरित्रहत्या गरेको भन्दै जयवीर देउवाले दिएको जाहेरीको आधारमा पाठकविरुद्ध प्रहरीको साइबर ब्युरोमार्फत जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशको आधारमा उनी पक्राउबाट जोगिएका थिए।

पाठकलाई पक्राउ गरेर अनुसन्धान नगरे पनि प्रहरीले उनलाई फरार प्रतिवादी कायम गर्दै सरकारी वकिलको कार्यालयमा प्रस्तावित राय सुझाव बुझाएपछि त्यसैको आधारमा सोमबार मुद्दा दायर भएको हो। 

अभियोग पत्र अनुसार पाठकविरुद्ध ‘भिडियोमा काठमाडौँस्थित हिल्टन होटेलमा साहिल अग्रवाल, दीपक भट्टको लगानी रहेको छ, भट्ट मार्फत जयवीर देउवा हिल्टन होटेलमा जोडिएका छन्, निज देउवाको दुबई,अस्ट्रेलिया, रियल स्टेट बिजनेस रहेको छ, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ’ भन्ने शब्द प्रयोग गरेर घृणा द्वेष फैलाउने काम गरेको भनेर जाहेरी परेको थियो।

जाहेरीको आधारमा प्राविधिक प्रहरी निरीक्षक राजेश सिंहको ‘ पाठकले चलाएको टफ टक विथ दिल भूषण पाठक नामक युट्युब च्यानलमार्फत भिडियो प्रसारण गरेर पीडितको सार्वजनिक नैतिकता, शिष्टाचारमा असर पर्ने गरी अफवाह फैलाएर चरित्र हत्या गर्ने लगायतको कार्य गरेको’ प्रहरी प्रतिवेदन आधारमा अनुसन्धान अगाडि बढेको देखिन्छ।

जाहेरीसँग संलग्न स्क्रिन सट लगायतका कागजात, प्रेस काउन्सिल नेपालको पत्र, नेपाल टेलिकमको कागजात, प्रहरी प्रतिवेदन, प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षक सचिवालय कानुन शाखाको पत्र र मौकामा बुझिएका अम्मर बहादुर रावलले गरेको घटना कागजका आधारमा पाठकले जाहेरीकर्ता विरुद्ध घृणा,द्वेष फैलाएर चरित्रहत्या गर्ने लगायतका कार्य गरेको कसुर विद्धुतिय कारोबार ऐन अन्तर्गतको कसुर गरेको पुष्टि भएको अभियोग पत्रमा दाबी गरिएको छ।

यसैगरि सो युट्युब च्यानल प्रेस काउन्सिलमा सूचिकृत भएको हो या हैन भन्ने विषयमा काउन्सिलले सूचिकृत नभएको र अनलाइन सञ्चार माध्यम अन्तर्गत रहेर सञ्चालनमा नरहेको पत्रलाई समेत कसुर पुष्टिको प्रमाणको रूपमा अभियोग पत्रमा उल्लेख गरिएको छ।

अभियोग पत्रमा पाठकलाई फरार प्रतिवादी रहेको उल्लेख गर्दै अदालतबाट कानुन बमोजिम मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार पक्राउ पुर्जीको माग गरिएको छ। प्रमाणको रूपमा पीडितले निवेदन साथ पेस गरेको डिभिडी, स्क्रिनसट र पाठकको खोजतलास सम्बन्धी प्रहरी प्रतिवेदनसहित २२ वटा पत्रहरू मिसिलसँगै पेस गरिएको छ।

असार १६, २०८२ सोमबार १७:२३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।