रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौं : प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि रिक्त बनेको रुपन्देही-३ मा उपनिर्वाचन कात्तिक १७ गते हुने भएको छ। निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति सार्वजनिक गरेको हो।

आयोगकी प्रवक्ता तथा सहसचिव नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रुपन्देही-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको मिति २०८१।१२।१९ मा निधन भएपछि नेपालको संविधानको धारा ८९ (च) बमोजिम सो पद रिक्त भएको संघीय संसद सचिवालयको जानकारीपछि आयोगले उपनिर्वाचनको मिति तोकेको हो।’

संविधानको धारा ८४(७) अनुसार प्रतिनिधिसभाको कार्यकालमा ६ महिनाभन्दा बढी समय बाँकी छँदा कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान सोही निर्वाचन प्रणालीबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही आधारमा आयोगले २०८२ असार १६ गतेको बैठकबाट कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ अनुसार तोकिएको मिति भित्र उपनिर्वाचन सम्पन्न गरिने आयोगले स्पष्ट पारेको छ।

निर्वाचन आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, र निष्पक्ष बनाउने उद्देश्यले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता र सबै सरोकारवालाहरूलाई सहयोगका लागि आग्रह गरेको छ।

साथै आयोगले रुपन्देही–३ मा केन्द्रित रहेर भइरहेको मतदाता नामावली संकलन प्रक्रिया पनि हालका लागि स्थगित गरिएको जनाएको छ।

यो पनि हेर्नुहोसः 

असार १६, २०८२ सोमबार १६:००:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।