अब नेपाली भाषामा ‘रामायण’ : डिशहोमको रमाइलो टिभीमा हेर्न पाइने

काठमाडौं : डिशहोमको मनोरञ्जन च्यानल रमाइलो टिभीमा अब बहुचर्चित धार्मिक टेलिभिजन श्रृंखला ‘रामायण’ नेपाली भाषामा प्रसारण हुने भएको छ। यो ऐतिहासिक श्रृंखला असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुनेछ।
‘रामायण’ भारतीय संस्कृत महाकाव्यमा आधारित टेलिभिजन श्रृंखला हो, जसलाई चर्चित निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका हुन्। सन् १९८७ देखि १९८८ सम्म भारतको डीडी नेसनल च्यानलमा पहिलोपटक प्रसारण भएको यो सिरिजको संगीत रविन्द्र जैनले संयोजन गरेका थिए।
प्रसारणको समयमै भारतमा ८२ प्रतिशत दर्शक हिस्सा प्राप्त गर्दै इतिहास रचेको यो सिरिज बीबीसीका अनुसार विश्वभर ६५ करोडभन्दा बढीले हेरेका थिए। साथै, यो श्रृंखला विश्वका १७ देशका २० भन्दा बढी च्यानलमार्फत पनि पुनः प्रसारण भइसकेको छ। २०२० को लकडाउन समयमा पुनःप्रसारण हुँदा एकै दिनमा ७.७ करोड दर्शकले हेरेको रेकर्डसहित ‘रामायण’ विश्वकै सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रम बनेको थियो।
डिशहोमले आफ्ना ग्राहकहरूका लागि निरन्तर मनोरञ्जनमूलक, धार्मिक तथा खेलकुद कार्यक्रमहरू उपलब्ध गराउँदै आएको छ।
रमाइलो टिभी हाल डिशहोमका ग्राहकहरूका लागि मात्र उपलब्ध छ।
असार १६, २०८२ सोमबार १५:४०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।