सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको सुनुवाइ सकियो

काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका तीन न्यायाधीश र न्यायपरिषद्को एक सदस्यको सुनुवाइ प्रक्रिया सम्पन्न गरेको छ।
आज सिंहदरबारमा बसेको समितिको बैठकमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्य महेश नेपालको सुनुवाइ गरिएको हो। यसअघि आइतबार समितिले न्यायाधीशका लागि सिफारिस भएका मेघराज पोखरेल र श्रीकान्त पौडेलको सुनुवाइ गरिसकेको थियो।
समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार चारैजनाको सुनुवाइ सकिएको छ भने निर्णय आगामी बैठकमा हुने छ।
सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूले आफ्नो योग्यता, अनुभव, रुचि र विचारहरू प्रस्तुत गरेका थिए। उनीहरूले संविधान र कानुनको दायराभित्र रहँदै निष्पक्ष न्याय सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, प्रस्तावित न्यायपरिषद् सदस्य महेश नेपालले पनि आफ्नो कार्यदक्षता र अवधारणा सार्वजनिक गर्दै संविधानसम्मत ढंगले न्याय प्रणालीमा योगदान दिने विश्वास दिलाएका थिए।
असार १६, २०८२ सोमबार १५:२८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।