सेभिया शहरमा सुरु भयो ‘विकासका लागि वित्त’ अन्तर्राष्ट्रिय सम्मेलन, प्रधानमन्त्री ओलीपनि सहभागी

स्पेन : संयुक्त राष्ट्रसंघको आयोजना तथा स्पेन सरकारको आतिथ्यतामा स्पेनको सेभिया शहरमा ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (एफएफडी-४) सोमबारदेखि सुरु भएको छ। सम्मेलन सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आयोजना भइरहेको हो।
उद्घाटन समारोहमा स्पेनका राजा फिलिप द्वितीय, प्रधानमन्त्री पेड्रो सान्चेज, र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरेका छन्। सम्मेलनमा विश्वका राष्ट्र प्रमुख, सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्था, वित्तीय क्षेत्र, व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा संयुक्त राष्ट्रसंघ प्रणालीका विभिन्न अंगका पदाधिकारीहरूको सहभागीता छ।
नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी छन्। उनीसँगै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा र शिष्टाचार महापाल कुमारराज खरेल सम्मेलनमा सहभागी भएका छन्।
प्रधानमन्त्री ओलीको यो भ्रमण स्पेनका प्रधानमन्त्री सान्चेज र राष्ट्रसंघ महासचिव गुटेरेसको मैत्रीपूर्ण निमन्त्रणामा भएको हो। सम्मेलनमा नेपालले अल्पविकसित, साना तथा द्वीपीय मुलुकहरूको तर्फबाट आवाज उठाउने र उनीहरूका हितमा वकालत गर्ने बताइएको छ।
समारोहमा सन् २०३० सम्म पूरा गर्नुपर्ने दिगो विकास लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय वित्तीय संरचना, विकास सहायताको कार्यान्वयन, प्रविधि हस्तान्तरण र लगानीको सुनिश्चितताका विषयमा विशेष छलफल हुनेछ।
सम्मेलनले विश्वव्यापी वित्त प्रणाली सुधार गर्दै दिगो विकासका लागि आवश्यक सहयोग र लगानी जुटाउने दीर्घकालीन मार्गचित्र तयार पार्ने अपेक्षा गरिएको छ।
असार १६, २०८२ सोमबार १५:१९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।