यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरू

काठमाडौं : सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्टलाई तथा सदस्यहरूमा पूर्वसहसचिव रोहित कुमार विसुराल र थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जानकारी दिए।
बैठकले सार्वजनिक खरिद निर्णयको संक्षिप्त व्यहोरा समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरूमा पूर्वसहसचिव रोहितकुमार विसुराल र थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, विदेशी विनिमय व्यवस्थापनसम्बन्धी विधेयक र सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गरिएको छ। कृषि तथा पशुपन्छी विकासमन्त्रीलाई असार ३० देखि साउन १ गतेसम्म भियतनामको हनोईमा हुने ‘वान कन्ट्री वान प्राइरोटि प्रोजेक्ट’ कार्यक्रममा सहभागी हुन स्वीकृति दिइएको छ।
खानेपानी तथा सरसफाइ क्षेत्रमा ‘नेसनल ट्रान्सफर्मेसन इन, एण्ड थ्रु, वाटर, सेनिटेशन एण्ड हाइजिन’ विषयक प्रतिबद्धतामा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृति प्रदान गरिएको छ।
सरकारले सहकारी संस्थासँग सम्बन्धित कर्जा असुलीसम्बन्धी मुद्दा टुंग्याउन कर्जा असुली न्यायाधिकरण गठन गर्ने निर्णय गरेको छ। न्यायाधिकरणको अध्यक्षमा कृतिबहादुर बस्नेत र सदस्यमा वसन्तराज पुरी (धनकुटा) र गोविन्द शर्मा गैरे (तनहुँ) रहनेछन्। यसका लागि आर्थिक वर्ष २०८१/८२ मा तीन पद अस्थायी दरबन्दी पनि स्वीकृत गरिएको छ।
सरकारले बाँकेको डुडुवा गाउँपालिका निवासी अकुव अहमदको परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति स्वरूप आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ।
साथै, नेपाली सेनाका एक सहायक रथीलाई उपरथीमा बढुवा गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई पेरिसमा हुने युनेस्कोको ४७औँ विश्व सम्पदा आयोगको सत्रमा सहभागी गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशकमा रामशरण पुडासैनीलाई नियुक्त गर्ने, प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाउने निर्णय पनि गरिएको छ।
त्यसैगरी, नेपाल–भारत सरकारबीच स्वास्थ्य तथा आयुर्वेदको क्षेत्रमा सहकार्यसम्बन्धी दुईवटा समझदारीपत्रहरू, ‘कोअपरेशन इन द फिल्ड अफ हेल्थ एण्ड मेडिसिन’ र ‘आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीमा सहकार्य’ स्वीकृत गर्ने निर्णय पनि बैठकबाट गरिएको मन्त्री गुरुङले जानकारी दिए।
बैठकले सञ्चार, स्वास्थ्य, भौतिक पूर्वाधार तथा खानेपानी मन्त्रालयका सचिवहरूको वैदेशिक भ्रमणलाई पनि स्वीकृति दिएको छ।
असार १६, २०८२ सोमबार १५:११:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।