टुनल्यान्ड जी सेभेनले २३ दिनमै पार गर्यो नेपालका ८ कठिन अफ-रोड ट्रेल

काठमाडौं : नेपालको अत्यन्त चुनौतीपूर्ण भूगोलमा आफ्नो अभूतपूर्व क्षमता प्रदर्शन गर्दै टुनल्यान्ड जी सेभेन पिकअपले एउटा नयाँ कीर्तिमान कायम गरेको छ।
कम्पनीका अनुसार, यस पिकअपले केवल २३ दिनको अवधिमा देशभरिका ८ अत्यन्तै कठिन अफ-रोड ट्रेल सफलतापूर्वक पार गरी यस्तो साहसिक अभियान पूरा गर्ने विश्वकै पहिलो पिकअप बन्न सफल भएको दाबी गरिएको छ। यो यात्रा केवल गाडीको परीक्षण मात्र नभई नेपालको विषम भौगोलिक अवस्थामा यसको वास्तविक क्षमता, विश्वसनीयता र नवीनता प्रदर्शन गर्ने एक महत्वपूर्ण चुनौती थियो।
यो ऐतिहासिक अभियान दार्चुलाको हिकिला (२,३०० मिटर) बाट सुरु भई नेपाल-चीन सीमा नजिकैको दुर्गम कोरला (४,६६० मिटर) सम्म पुगेको थियो। यस क्रममा टुनल्यान्ड जी सेभेन ले फलामे (२,४५० मि), खाङ्सार (३,७०० मि), सन्दकपुर (३,६३६ मि), ढोरपाटन (३,००० मि), गुफा पोखरी (२,८९० मि) र जुम्ला (२,५१५ मि) जस्ता उच्च उचाइका तथा अप्ठ्यारा ट्र्याकहरू सहजै पार गर्यो।
यी सबै गन्तव्यहरू ठाडा उकालो, असमान भूभाग र जोखिमपूर्ण मौसमी अवस्थाका लागि परिचित छन्, जसले गाडीको असली क्षमताको परीक्षण गर्यो। यस यात्राले टुनल्यान्ड जी सेभेन केवल सामान्य सडकका लागि मात्र नभई नेपालको कठोर हिमाली भूभागमा समेत उत्कृष्ट प्रदर्शन गर्न सक्षम रहेको प्रमाणित गरेको छ।
१६० हर्सपावर र ३९० एनएम टर्क क्षमतायुक्त टुनल्यान्ड जी सेभेन ले २३ दिन लामो यस अफ-रोड यात्राभरि प्रभावशाली प्रदर्शन गर्यो। विशेषगरी, यसको २२५ मिमि ग्राउन्ड क्नियरेन्सले बाटोका विभिन्न अवरोध र खाल्डाखुल्डी सहजै पार गर्न मद्दत पुग्यो भने आर१८ टायरले हिलो र ढुंगाजस्ता कठिन सतहमा पनि उत्कृष्ट ग्रिप प्रदान गर्यो।
यसका साथै, हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल जस्ता एडभान्स्ड फिचरहरूले अत्यन्तै ठाडो उकालो र जोखिमपूर्ण ओरालोहरूमा पनि गाडीलाई पूर्ण नियन्त्रणमा राख्न सहयोग गरे। कठिन चढाइका मार्गहरूमा समेत जी सेभेन को यात्रा सहज, नियन्त्रणयोग्य र भरपर्दो रहनुले यसको इन्जिनियरिङ उत्कृष्टताको प्रमाण दिएको छ।
बाहिरबाट शक्तिशाली र बलियो देखिने टुनल्यान्ड जी सेभेन को भित्री भाग भने यात्रुहरूका लागि अत्यन्तै आरामदायक र प्रिमियम अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ।
चुनौतीपूर्ण यात्राका क्रममा, प्यानोरामिक सनरूफ, तातो-चिसो मिलाउन सकिने १२ मोडको इलेक्ट्रिक सिट, १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्मार्ट पुश-स्टार्ट र अटोमेटिक एसी जस्ता आधुनिक सुविधाहरूले यात्राको कठिनाईलाई कम गर्दै आरामदायी बनाउन महत्वपूर्ण भूमिका खेले। यस्ता फिचरहरूले लामो र अप्ठ्यारो अफ-रोड यात्रालाई समेत सहज र स्मरणीय बनाउन मद्दत गरे।
यो ऐतिहासिक अभियान नेपालकै जटिल भौगोलिक अवस्थामा गाडीको विस्तृत र वास्तविक परीक्षणको एक महत्वपूर्ण हिस्सा थियो। शोरुममा मात्र नभई प्रत्यक्ष रूपमा क्षमता प्रदर्शन गर्नु यसको मुख्य उद्देश्य थियो।
विशेषगरी विश्वका कठिन भू-भागहरूलाई लक्षित गरी डिजाइन गरिएको टुनल्यान्ड जी सेभेन ले यस यात्राबाट आफूलाई केवल एक सक्षम पिकअपको रूपमा मात्र नभई, नेपालमा ४x४ पिकअपको परिभाषा नै नयाँ ढंगले स्थापित गर्ने सवारीको रूपमा प्रमाणित गरेको छ।
यसले भरपर्दो शक्ति, उच्च प्रदर्शन क्षमता र व्यावहारिकतालाई एकैसाथ प्रस्तुत गर्दै चुनौतीपूर्ण भूभागमा पनि उत्कृष्ट अनुभव प्रदान गर्न सक्ने स्पष्ट संकेत दिएको छ।
असार १६, २०८२ सोमबार १२:२०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।