भारतीय मानक ब्यूरो प्रमाणपत्र पाउने पहिलो नेपाली बेबी हाइजिन कम्पनी बन्यो ब्रजेश्वरी, भारतमा पुनः डायपर निर्यात सुरू

भारतीय मानक ब्यूरो प्रमाणपत्र पाउने पहिलो नेपाली बेबी हाइजिन कम्पनी बन्यो ब्रजेश्वरी, भारतमा पुनः डायपर निर्यात सुरू

परासी : हाइजिन तथा शिशु डायपर निर्माता कम्पनी ब्रजेश्वरी इन्डस्ट्रीज प्रालिले भारतीय मानक ब्यूरोको प्रमाणपत्र प्राप्त गरी भारतमा बेबी डायपरको निर्यात पुनः सुरू गरेको छ।

यससँगै ब्रजेश्वरी इन्डस्ट्रीज भारतीय मानक ब्यूरोको  प्रमाणपत्र पाउने पहिलो नेपाली बेबी हाइजिन निर्माता कम्पनी बनेको छ।

ब्रजेश्वरी समूहका अध्यक्ष तथा दूरदर्शी उद्यमी एसपी ढकालले सन् २०१९ मा करिब ६० करोड रुपैयाँको सुरूवाती लगानीमा यस कम्पनीको स्थापना गरेका हुन्।

नेपालमा बेबी हाइजिन उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याउने लक्ष्यका साथ स्थापित कम्पनीले निरन्तर आधुनिक प्रविधि, उच्च गुणस्तरका कच्चा पदार्थ र विश्वस्तरीय उत्पादन विधिमा लगानी गर्दै आएको उनले बताए।

कम्पनीका ‘न्यानो‘ र ‘टेण्डर टच’ ब्रान्ड नेपाली बजारमा विश्वासिलो शिशु डायपर तथा हाइजिन उत्पादनका रूपमा स्थापित छन्। ब्रजेश्वरी इन्डस्ट्रीजले सन् २०२३/२४ मा नेपालबाट शिशु डायपर निर्यातमा सबैभन्दा ठूलो योगदान पुर्याएबापत सम्मान पनि प्राप्त गरेको थियो।

तर, भारत सरकारले आयातित बेबी हाइजिन उत्पादनका लागि BIS प्रमाणपत्र अनिवार्य गरेपछि विगत ६ महिनादेखि ब्रजेश्वरीको निर्यात प्रक्रिया रोकिएको थियो।

भारतीय मानक ब्यूरोका कडा मापदण्ड र उच्च अस्वीकृति दरका बावजुद कम्पनीले छिटो र प्रभावकारी रूपमा सबै प्रक्रिया पूरा गरी सफलतापूर्वक प्रमाणपत्र प्राप्त गरेको हो।

कम्पनीले भारतीय मानक ब्यूरो प्रमाणपत्र प्राप्त गर्नुलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिएको छ।

अध्यक्ष ढकालले भने, ‘कडा परीक्षण र सम्पूर्ण नियम पालना गरेर भारतीय मानक ब्यूरो प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा हामी गौरवान्वित छौं। यो उपलब्धि हाम्रो कम्पनीका लागि मात्र नभई सम्पूर्ण नेपाली उत्पादन उद्योगका लागि नयाँ अध्याय हो।’

भारतीय मानक ब्यूरो प्रमाणपत्र प्राप्त गरेसँगै ब्रजेश्वरी इन्डस्ट्रीजले आगामी वर्ष भारतमा आफ्नो निर्यात ५० करोड रुपैयाँभन्दा बढीले वृद्धि गर्ने अपेक्षा राखेको छ। हाल १०० भन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी दिएको यस कम्पनीले बढ्दो माग सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्ने योजना पनि बनाएको छ।

साथै, ब्रजेश्वरीले भारतीय कम्पनीहरूलाई सस्तो र गुणस्तरीय ओरिजिनल इक्युपमेन्ट म्यानेजमेन्ट (OEM) तथा ठेक्का उत्पादन सेवा प्रदान गर्न समेत तत्पर रहेको जनाएको छ।

कम्पनी पश्चिम नवलपरासीको रामग्राम, परासीमा अवस्थित छ। यो स्थान उत्तर प्रदेशको प्रमुख सीमा सहर सुनौलीबाट करिब १२ किलोमिटरको दूरीमा रहेकाले भारतीय आयातकर्ताहरूका लागि भौगोलिक रूपमा निकै लाभदायक छ।

नेपाल-भारत व्यापार सन्धिअनुसार भारत निर्यात गरिने नेपाली डायपरमा कुनै भन्सार नलाग्ने भएकाले यसले दुवै पक्षका लागि लागत घटाउन मद्दत पुग्नेछ।

ब्रजेश्वरी इन्डस्ट्रीजले ‘नेपाली गुणस्तरलाई विश्व बजारमा पुर्याउने’ लक्ष्यका साथ गुणस्तर, नवप्रवर्तन र हाइजिनमा नयाँ स्तर कायम गर्न प्रतिबद्ध रहेको बताएको छ।

असार १६, २०८२ सोमबार १२:०९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।