इँटाभट्टाको टहराबाट ४ जीपीए ल्याएकी गोमा, डाक्टर बन्ने रहर

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्कृष्ट ४ जिपिएसहित उत्तीर्ण भएकी छन्।
एसईईको नतिजा गत शुक्रबार सार्वजनिक भयो, त्यतिबेला उनी स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन्। गोमाले हतार-हतार अनलाइनमार्फत आफ्नो नतिजा हेरिन्। नतिजा ४ जीपीएसहित सर्वोत्कृष्ट आएको देखेपछि उनको खुसीको सीमा रहेन।
चाँगुनारायण-८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई दिएकी उनले सामुदायिक विद्यालयमा अध्ययन गरेर यो सफलता प्राप्त गरेकी हुन्। उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक र चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनिन्।
गोमाको थातथलो रामेछापको खनियाँपानी हो। परिवारको कमजोर आर्थिक अवस्था र छोरीको पढाइप्रतिको रुचिका कारण खनियाँपानी छाडेर भक्तपुरको सुडाल आएको गोमाको बुवा मीनबहादुर श्रेष्ठले बताए।
‘एकातर्फ कमजोर आर्थिक अवस्था अर्कोतर्फ छोरी गोमाले सानै बेलादेखि पढाइप्रति रुचि राख्ने भएकाले आफ्नो थातथलो छोडेर कामको खोजी गर्दै भक्तपुर आएँ। त्यो बेला गोमा चार वर्षकी थिइन्,’ मीनबहादुरले भने, ‘रामेछापको खनियाँपानीबाट भक्तपुर झर्नुको खास कारण छोरीको पढाइकै कारणले हो।’
भक्तपुर आएर मीनबहादुरले इँटाभट्टामा काम सुरू गरे। ज्याला मजदुरी गरेर, इँटा पारेर, भारी बोकेर भए पनि छोरीलाई पढाउने अठोट गरेका उनले गोमालाई इँटा भट्टासँगै नजिकै रहेको महेन्द्रग्राम माध्यमिक विद्यालयमा भर्ना गरिदिए।
खनियाँपानीमा विद्यालय पुग्नै एक घण्टा लाग्ने ओरालो हिँड्नुपर्ने बाध्यताबाट मुक्त भई गोमाले नजिकैको विद्यालयमा पढ्न पाइन्। दिउँसो विद्यालय जाने गोमा साँझ बिहान भने इँटाभट्टको खलामा खेल्दै हुर्किन्। उमेरसँगै उनले बुबाआमालाई काममा सघाउन थालिन्।
दिउँसो पढ्ने, साँझ बिहान खलाको इँटा सुकाउन ओल्टाइपल्टाई गर्ने उनको दैनिकी बन्दै गयो। कक्षा ९ सम्म उनको दैनिकी लगभग यही रुटिनमा बित्यो। कक्षा १० पुगेपछि भने गोमाले आफ्नो दैनिकीलाई केही परिवर्तन गरिन्। पढाइमा बढी केन्द्रित भइन्।
‘बुबाआमाले पनि अबको एक वर्ष पढाइ ध्यान दिन भन्नुभयो। एसईई दिने भएकाले पढाईमा जोड दिन सुझाव दियो। त्यसपछि मैले पढाइमा ध्यान दिन थालेँ,’ उनले भनिन्, ‘यसैको परिणाम आज मैले एसईईमा राम्रो नतिजा पाएँ।’
गोमाले भविष्यमा डाक्टर बन्ने लक्ष्य लिएको बताइन्। तर, त्यसका लागि कडा मेहनतका साथ पढेर छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प नभएको उनको भनाइ छ।
‘विज्ञान सङ्कायमा प्लस टु गरी नेपालको कुनै पनि मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकालेर एमबिबिएस पढ्ने लक्ष्य छ,’ उनले भनिन्, ‘एक असल डाक्टर बन्नु मेरो मुख्य लक्ष्य हो। यसका लागि कडा मेहनत चाहिन्छ भन्ने थाहा छ। त्यसरी नै तयारी गर्छु।’
लक्ष्मी गारु/रासस
असार १६, २०८२ सोमबार ११:२९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।