ग्लोबल आइएमई बैंकद्वारा राष्ट्रिय धान दिवसको अवसरमा ‘धान खेती कर्जा’ सार्वजनिक
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा ‘धान खेती कर्जा’ सार्वजनिक गरेको छ।
नेपाल सरकारले आगामी २ वर्षमा धानमा आत्मनिर्भर बन्ने लिएको रणनीतिलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त कर्जा योजना ल्याएको हो। यस योजनाअन्तर्गत कृषकहरूले धानको बिऊ, रासायनिक तथा जैविक मल, कृषि उपकरण तथा अन्य आवश्यक सामग्री खरिद गर्न बैंकबाट अधिकतम २० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।
बैंकले खेतीयोग्य जमिनको सदुपयोग गर्दै धान उत्पादन बढाउन, कृषकको आम्दानी वृद्धि गर्न, कृषि पेशालाई मर्यादित र व्यावसायिक बनाउन तथा कृषकहरुलाई प्रोत्साहन गर्न यो कर्जा सार्वजनिक गरेको हो।
यसै अवसरमा, बैंकले टोखा नगरपालिका वडा नं. १, राधा कृष्ण मन्दिर नजिकैको फाँटमा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, बैंकका कर्मचारी तथा स्थानीयहरुको सहभागितामा धान रोपाई कार्यक्रम पनि आयोजना गर्यो।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले सरकारको धान उत्पादन बढाउने, कृषिलाई आधुनिकीकरण तथा व्यवसायीकरण गर्ने तथा कृषकको मनोबल वृद्धि गर्ने रणनीतिमा बैंकले सहयोग पुर्याउँदै आएको उल्लेख गरे।
आज सार्वजनिक गरिएको धान खेती कर्जाले पनि कृषकहरूलाई धान खेती गर्न प्रोत्साहित गर्ने र धान उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे।
बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समय सान्दर्भिक योजनाहरू ल्याएर लाभान्वित गर्दै आएको छ।
असार १६, २०८२ सोमबार १०:११:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।