सप्तरीमा ट्रकले किच्दा मोटरसाइकल चालकको मृत्यु

सप्तरीमा ट्रकले किच्दा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं : सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ। दुर्घटनापछि सडकमा लडेका उनलाई विपरीत दिशाबाट आएको ट्रकले किच्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

खडक नगरपालिका- ७ स्थित पूर्व पश्चिम राजमार्गअन्तर्गतको विसनपुर चोकनजिकै आइतबार भएको दुर्घटनामा सोही नगरपालिकाको वडा नम्बर ९ घर भएका ४५ वर्षीय दिपेन्द्र विश्वकर्माको मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विश्वकर्मा चढेको प्रदेश १-०५-००१ प १५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स २ प १९८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

सो क्रममा सडकमा लडेका विश्वकर्मालाई विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१-००१ ख ३६३ नम्बरको ट्रकले किचेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन्। किचिएर उनको मृत्यु भएको उनले बताए।

दुर्घटनामा संलग्न ट्रक चालक हेटौँडा उपमहानगरपालिका- १५ का २९ वर्षीय राम कुमार श्रेष्ठ तथा अर्का मोटरसाइकल चालक खडक नगरपालिका- ७ का ३८ वर्षीय भुपेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

असार १६, २०८२ सोमबार ०८:३४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।