अन्डरवर्ल्डको पार्टीमा आमिरलाई निम्तो, करोडौं रकमको अफर

काठमाडौं : ९० को दशकमा हिन्दी फिल्म उद्योगमा अन्डरवर्ल्ड (संगठित आपराधिक गतिविधिमा संलग्न समूह)को गहिरो प्रभाव थियो।
फिल्म निर्माणदेखि कलाकार छनोटसम्ममा अन्डरवर्ल्डको हस्तक्षेप सामान्य मानिन्थ्यो। यस्तै समयमा आफूलाई अन्डरवर्ल्डबाट धम्की नआए पनि फोन र निमन्त्रणा आएको खुलासा अभिनेता आमिर खानले हालै एक अन्तर्वार्तामा गरेका छन्।
द लल्लनटपसँग कुरा गर्दै आमिरले आफूलाई अन्डरवर्ल्डबाट एक पार्टीमा भाग लिन निमन्त्रणा आएको र आफूले त्यसलाई कसरी अस्वीकार गरेको बताएका छन्। आमिरका अनुसार उनलाई दुबईमा आयोजित अन्डरवर्ल्डको एक पार्टीमा भाग लिन निमन्त्रणा आएको थियो। उनले सुरूमै उक्त निमन्त्रणा अस्वीकार गरे।
उनलाई फोन मार्फत सम्पर्क गर्ने केही व्यक्तिले पार्टीमा आउनका लागि फकाउने प्रयास गरेका थिए। आमिरले कसैको नाम नलिइ उनीहरूले धेरै प्रयास गरेको, पैसाको अफर गरेको र आवश्यक परेको काम गरिदिने आश्वासन पनि दिएको बताए। तर, आफूले लगातार अस्वीकार गरेको उनको दाबी थियो।
आमिरले बताए, ‘पछि उसको स्वर परिवर्तन भयो। उसले भन्यो, अब तिमी आउनै पर्छ। तिम्रो नाम घोषणा गरिएको छ। यो सम्मानको कुरा हो।’
यसको जवाफमा आमिरले आफ्नो अडान दोहोर्याए।
उनले भने, ‘तिमीहरुले म सँग एक महिनादेखि भेटिरहेको छौ र म सुरूदेखि नै आउन नसक्ने बताइरहेको छु। तिमी शक्तिशाली छौ, तिमी जुनसुकै दिन चाहन्छौ आउन सक्छौ। मलाई कुट, पिट, मेरो हातखुट्टा बाँध र जहाँ चाहन्छौ लैजाउ। तिमी मलाई जबरजस्ती लैजान सक्छौ, तर म मेरो मन लागेर आउँदिन।’
आमिरको यस दृढ अडानपछि ती व्यक्तिले उनलाई सम्पर्क गर्न बन्द गरेको आमिरको भनाइ छ। आफू त्यो समयमा निकै डराएको आमिरले स्वीकारे।
उनीहरूको प्रस्ताव अस्वीकार गर्दा परिवारलाई हानी पुर्याउँछन् कि भनेर बढी चिन्ता लागेको उनको भनाइ थियो। त्यतिबेला उनका दुई छोराछोरी सानै थिए भने आमाबुवा पनि साथमै बस्थे।
आमाबाबुले उनीहरू धेरै खतरनाक मानिसहरू भएको बताएपछि आमिरले भनेका थिए, ‘म मेरो जीवन आफ्नै शर्तमा बिताउन चाहन्छु। म त्यहाँ जान चाहन्न।’
असार १६, २०८२ सोमबार ०८:१३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।