निरन्तर वर्षापछि सुरक्षा निकाय हाइ अलर्टमा, निजी क्षेत्रको हेलिकप्टरसमेत तयारी अवस्थामा

काठमाडौं : निरन्तर वर्षापछि सम्भावित जोखिममा परिचालित हुन तीनवटै सुरक्षा संगठनलाई उच्च सतर्कतामा राखिएको छ। वर्षायामको प्रारम्भसँगै निरन्तर वर्षा भएपछि हुनसक्ने बाढी पहिरोको जोखिम कम गर्न सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए।
आइतबार बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठकमा उनले सेना र निजी क्षेत्रका हेलिकप्टरसमेत विपद्मा परिचालन गर्नुपर्ने अवस्थामा तयारी अवस्थामा राखिएको जानकारी दिए। उनले मौसम पूर्वानुमानअनुसार जोखिम रहेका सडकमा सवारीसाधन सञ्चालन नगर्नु भनेको अवस्थामा सवारीसाधन चलाएमा र केही भएमा त्यसको जिम्मेवार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र अन्तिम चेकपोस्टको प्रहरी इन्चार्ज हुने गरी निर्देशन पठाइसकिएको उनले जानकारी दिए।
बैठक कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको थियो। शहरी विकास मन्त्रालयमा बसेको परिषद्को बैठकले वर्षापछिको सम्भावित जोखिमलाई ध्यान दिँदै जोखिम भएको ठाउँमा रातको समयमा सवारीसाधन नचलाउने, भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई सूचना प्रवाह गर्ने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने व्यवस्था मिलाउने र विपद् प्रभावित क्षेत्रमा ‘रिपोर्टिङ’को तत्काल व्यवस्था मिलाई विपद् प्रभावितलाई ‘रेस्क्यु’ गर्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो।
कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षाको समयमा नागरिकको जीवनरक्षाका लागि आवश्यक पूर्व तयारीमा कुनै कमी नगर्न आग्रह गर्दै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए। उनले मौसम पूर्वानुमानपछिको पूर्व सूचना प्रभावकारी बनाउन सके विपद्बाट क्षति हुनबाट रोक्न सकिने भन्दै पूर्व सूचना प्रभावकारी बनाउने र त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।
बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षाको मौसमका कारण हुनसक्ने सम्भावित जोखिमको अवस्थालाई ध्यान दिँदै भइरहेका तयारीबारे जानकारी लिएका थिए।
असार १५, २०८२ आइतबार २१:३२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।