माधव नेपाललाई झाँक्रीले सिनो भनेपछि घनश्यामले निकाले विज्ञप्ति

काठमाडौं : पतञ्जलिको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सोही पार्टीकी नेतृ रामकुमारी झाँक्रीले सिनो भनेपछि पार्टीले विज्ञप्ति निकालेर पार्टीको नीति बाहिर गएर नबोल्न निर्देशन जारी गरेको छ। झाँक्रीले शनिवार बुटवलमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष नेपालमाथि कानुनी प्रश्न उठेकाले अर्ली महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखेकी थिइन्।
सँगै उनले सिनो धेरैबेर बोकेर हिँड्न नसक्ने प्रतिक्रिया दिएकी थिइन्। आफ्नै पार्टी अध्यक्षबारे झाँक्रीले दिएको सार्वजनिक अभिव्यक्तिको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। उता पार्टीले आइतबार विज्ञप्ति निकालेर नेपाल प्रकरणबारे पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न ध्यानाकर्षण गराइएको छ।
५ सय ५० रोपनी बढी जग्गा पतञ्जलिलाई दिएर पछि विक्री गर्न दिने निर्णय गरेको भन्दै नेपालसहितमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ। विशेष अदालतमा दायर भएको मुद्दामा उनी ३५ लाख धरौटीमा बाहिर रहे पनि उनी अहिले पनि पार्टी अध्यक्षको नेतृत्वमा छन्।
असार १५, २०८२ आइतबार १९:०३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।