अभिनेत्री शेफाली जरिवालाको मृत्युपछि वरुण धवनले मिडियालाई लगाए गम्भीर आरोप

एजेन्सी : प्रसिद्ध अभिनेत्री तथा मोडल शेफाली जरिवालाको ४२ वर्षको उमेरमा ह्रदयघातका कारण मृत्यु भएपछि बलिउड अभिनेता वरुण धवनले मिडियाको असंवेदनशील कभरेजको कडा आलोचना गरेका छन्।
'काँटा लगा' गीतका कारण चर्चामा आएकी शेफालीको शुक्रवार राति मृत्यु भएको थियो। उनका पति अभिनेता पराग त्यागीले उनलाई अस्पताल लगेका थिए तर डाक्टरहरूले उनलाई अस्पताल पुग्दा नै मृत घोषणा गरेका थिए।
शेफालीको शनिवार मुम्बईमा अन्त्येष्टि गरिएको थियो। अन्त्येष्टि कार्यक्रममा धेरै सेलिब्रिटीहरूले उनलाई अन्तिम श्रद्धाञ्जलीसहित बिदा गरेका थिए। तर फोटो पत्रकारहरूले शेफालीकी आमा सुनिता जरिवालाको भिडियो र उनका पति पराग त्यागीले हात जोडेर एकान्तको अनुरोध गर्दाका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए।
वरुण धवनले गरे कडा आलोचना
वरुण धवनले आफ्नो इन्स्टाग्राम स्टोरीमा फेरि एक पटक कसैको मृत्युलाई मिडियाले असंवेदनशील तरिकाले कभर गरेको भन्दै आलोचना गरे। उनले लेखे ‘मैले बुझ्न सकिन कि तपाईँहरूले किन कसैको दुःखलाई कभर गर्नुपर्छ।’
उनले त्यस्ता दृश्य हेर्दा सबैले असहज अनुभव गर्ने र भन्दै लेखेका छन् ‘मिडियाका साथीहरूलाई मेरो अनुरोध छ यो कुनै व्यक्तिले आफ्नो अन्तिम यात्रालाई कभर गराउने तरिका होइन।’
बिग बसका पूर्व प्रतिस्पर्धी पारस छाब्राले पनि प्रेसको व्यवहारबारे आलोचना गरे। उनले यो समय सम्झना वा पीडाको बारेमा कुरा गर्ने नभएको भन्दै आलोचना गरेका थिए।
शेफाली जरिवालाको करियर
शेफाली जरिवालाले २००२ मा 'काँटा लगा' रिमिक्स म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएकी थिइन्। यसले उनलाई "काँटा लगा गर्ल" को उपनाम दिलाएको थियो। उनले बिग बसको तेह्रौँ सिजनमा पनि भाग लिएकी थिइन्।
शेफालीलाई मिर्गी र डिप्रेसनको समस्या थियो। आधिकारिक कारण पुष्टि नभए पनि ह्रदयघातलाई सम्भावित कारण मानिएको छ। उनको शव कुपर अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको थियो। पोस्टमार्टम रिपोर्ट आएको छैन।
असार १५, २०८२ आइतबार १८:५२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।