अमेरिकाले नष्ट गर्न सकेन इरानको युरेनियम प्रशोधन केन्द्र, केही महिनामै पुनः कार्यक्रम सुरु हुन सक्ने

अमेरिकाले नष्ट गर्न सकेन इरानको युरेनियम प्रशोधन केन्द्र, केही महिनामै पुनः कार्यक्रम सुरु हुन सक्ने

एजेन्सी : संयुक्त राष्ट्रसंघका आणविक निगरानी प्रमुख राफेल ग्रोसीले इरानको आणविक कार्यक्रममाथि अमेरिकी आक्रमणले पूर्ण क्षति पुर्याउन नसकेको बताएका छन्। उनका अनुसार तेहरानले चाहेमा केही महिनाभित्रै पुन युरेनियम प्रशोधन सुरु गर्न सक्छ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक रहेका ग्रोसीले सीबीएसको 'फेस द नेशन' कार्यक्रममा भने, "इरानसँग क्षमताहरू छन्। तिनीहरूले केही महिनामा सेन्ट्रिफ्यूजहरू सञ्चालन गरेर युरेनियम उत्पादन सुरु गर्न सक्छन्।"

उनले आणविक केन्द्रमा भएको अमेरिकी हमलाले गम्भीर क्षति भए पनि पूर्ण क्षति नभएको र इरानसँग औद्योगिक र प्राविधिक क्षमताहरू रहेकाले उनीहरूले चाहेमा फेरि काम सुरु गर्न सक्ने बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम "पूर्ण र सम्पूर्ण रूपमा नष्ट" गरेको दाबी गरिरहेका छन्। तर ग्रोसीको भनाइले यो दाबीलाई खण्डन गरेको छ।

पेन्टागनको डिफेन्स इन्टेलिजेन्स एजेन्सीको प्रारम्भिक मूल्याङ्कनले पनि आक्रमणले इरानको आणविक कार्यक्रमका मूल घटकहरू नष्ट गर्न नसकेको देखाएको थियो। यसले कार्यक्रमलाई केवल केही महिनामात्र पछाडि धकेलेको निष्कर्ष निकालिएको थियो।

इजरायल र इरानबीच १२ दिनसम्म द्वन्द्व भएको थियो। इजरायलले तेहरानलाई आणविक बम विकास गर्नबाट रोक्ने उद्देश्यले आक्रमण गरेको बताएको थियो। इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गरेको थियो। युद्धविराम सुरु हुनुअघि अमेरिकाले तीनवटा मुख्य इरानी आणविक स्थलहरूमा आक्रमण गरेको थियो।

ग्रोसीले आईएईएले इरानका केही अघोषित स्थानहरूमा युरेनियमका निशान फेला पारेको बताए। उनले इरानले विश्वसनीय जवाफ नपाएको बताए। इरानले अन्तर्राष्ट्रिय निगरानीबाट पछि हट्ने संकेत गर्दै संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायसँगको सहयोग रोक्ने विधेयक पारित गरेको छ। विदेशमन्त्री अब्बास अराघचीले अप्रसार सन्धिको सदस्यतामा पुनर्विचार गर्न सक्ने चेतावनी दिएका छन्।

असार १५, २०८२ आइतबार १८:३३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।