प्रबन्धक हरिदेवीको प्रसव पीडा र खुसी: ‘फेरि पनि छोरी भयो ?’ भनेर प्रश्न आउँदा मन खिन्न भएको थियो

प्रबन्धक हरिदेवीको प्रसव पीडा र खुसी: ‘फेरि पनि छोरी भयो ?’ भनेर प्रश्न आउँदा मन खिन्न भएको थियो

सार्क बिजनेस एसोसिएसन अफ होम बेस्ड वर्कस (सवा) नेपालमा सन् २०१० देखि आबद्ध भएर काम गरिरहेकी छन्, हरिदेवी श्रेष्ठ। कपडा बुनाइ काम गरिरहेकी उनी अहिले भने यसकै ‘द भिलेज क्याफे’मा म्यानेजर छिन्। घरमै बसेर काम गर्ने महिलाहरूको लागि खोलिएको संस्था सवा नेपाल सार्कको सात वटै राष्ट्रहरूमा छ। घरमै बसेर विभिन्न काम गरिरहेको, कम पढेको गृह श्रमिक महिलाहरूलाई यसले प्राथमिकता दिने गर्छ।

हरिदेवीले एसएलसी पास गरेकी छिन्। बुनाइ काम गर्दा गर्दै उनले योमरी बनाउने तालिम पनि लिइन्। अनि टोलीसहित भारतको मेलामा भाग लिन जाँदा उनले समूहको नेतृत्व गरेको देखेर उनको कामको लेभल पनि बढ्दै गयो। पुल्चोकमा सानो क्याफे चलाएका उनीहरूले अहिले झम्सिखेलमा १३ जना महिलाहरूको समूहले द भिलेज क्याफे चलाइरहेका छन्। उनै हरिदेवी तीन सन्तानकी आमा पनि हुन्। उनले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन् :

OOO

मेरो माइती काभ्रेपलान्चोक जिल्लाको साँगामा हो। आफू जन्मिएको ठाउँ भन्ने बित्तिकै रमाइलो लाग्ने रहेछ। हामी पाँच जना दिदीबहिनीमा म काइँली छोरी हुँ। बुवा सानोमै बित्नु भएपछि हामी पाँचै जना छोरीलाई एक्लै आमाले हुर्काउनु भयो।

हाम्रो बाले पहिला नै पसल राख्नु भएको रहेछ। त्यही पसलको आडमा आमाहरूले हामीलाई हेर्नु भयो। खेतीपाती पनि अलिअलि थियो। त्यो बेलामा छोरीलाई पढाउन हुन्न भन्ने थियो। मलाई पनि आमाले चार कक्षा सम्म मात्र पढाउने भन्नुभएको थियो। तर मैले रोइ कराई गरेर बरु सबै काम पनि गर्छु, पढ्न चैँ जसरी नि पढ्छु भने। त्यही भएर एसएलसी चैँ गरेर छाडे। मैले एसएलसी पास गर्ने बेलामा हाम्रो गाउँमा जम्मा पाँच जना छोरीहरूले मात्र एसएलसी पास गरेका थिए। छोरी मान्छेले त्यसबेला एसएलसी पास गर्नु भनेको गाउँमा निकै ठुलो कुरा थियो। मैले २२ वर्षको हुँदा एसएलसी पास गरेँ।

एसएलसी पछि बिहेको कुरा आइहाल्यो। अनि पढाइ माथि लान सकिनँ। अझै पनि धेरै पढ्न नपाएकोमा नराम्रो लाग्छ। त्यो बेलामा १६/१७ वर्षको उमेरमा सबै छोरीहरूको बिहे भइसक्थ्यो। म लाई त ढिला भयो भन्ने कुरा आयो नि। वैशाखमा हाम्रो गाउँमा जात्रा हुने गर्छ। त्यही जात्रा हेर्न आउँदा हाम्रो पसलमा चुरोट किन्ने बहानामा श्रीमानले मलाई हेर्न आउनु भएको रहेछ भन्ने बिहे पछि थाहा पाएँ। वैशाखमा हेर्न आउनु भएको, जेठमा त मेरो बिहे भयो। त्यसबेलासम्म मैले स्विटर, पन्जा, मोजा बुनेर आफ्नो खर्च आफै धानिरहेकी थिएँ।

बिहे पछि काठमाडौँ आएँ। बिहेकै दिन ‘मैले क्याम्पस पढ्न पठाउने कि नपठाउने ?’ भनेर श्रीमानलाई सोधेको कुरा अहिले पनि श्रीमानले बेलाबेला भन्नुहुन्छ। यहाँ पद्मकन्या क्याम्पसमा पढ्ने भनेर भर्ना भएको पनि हो। तर सन्तान भए पछि पढ्ने मेसो नै पाइएन।

बिहे भएको अर्को वर्ष हाम्रो पहिलो सन्तान भयो। आफ्नो व्यक्तिगत स्वास्थ्य, संस्कार केही थाहा थिएन। बच्चा नजन्माए पछि किन ढिला भयो ? भनेर समाजबाट कुरा आइसकेको थियो। त्यही बेला मेरो गर्भ रहेछ। गर्भवती भएको खबर पाएपछि घरमा खुसीको माहौल थियो।

बच्चालाई जन्म दिने समयसम्म पनि मैले मेरो कामहरू गरिराखेँ। मेरो दुई जना छोरीहरूलाई त मैले घरमा नै जन्म दिएको हुँ। मैले तीन जना सन्तानलाई जन्म दिएँ। तर वान्ता हुने, कमजोरी हुने लगायतको केही अप्ठ्यारो भएको मलाई याद छैन।

आमा भेट्न गइराखेँ। सबै कामहरू गरिनै राखेँ। त्यसमाथि मेरो पेट पनि त्यति धेरै ठुलो भएन। मेरो माइली छोरी लगेर माइत जाँदा त म सुत्केरी भनेर थाहा पाउँदा सब दङ्ग परेका थिए। त्यसबेला पनि मैले बुनाइ काम गरिनै राखेको हुँ।

हरेक महिना जँचाउन प्रसूति गृह थापाथलीमा जान्थेँ। प्रसव व्यथा लाग्दा हस्पिटल जाने भनेर तयारी गर्दा गर्दै जेठी छोरीलाई घरमै जन्म दिएँ। गर्भावस्था भर आफूलाई साथ दिने, मिल्ने एक जना मान्छे चैँ साथमै भयो भने सहज हुने रहेछ। सब भन्दा बढी त श्रीमान् साथमा भयो भने झन् सहज हुन्थ्यो भनेर मनमा खेलिरहन्थ्यो।

घरमै छोरीलाई जन्म दिए पछि सुँडेनी आउनु भयो। व्यथा लाग्ने समयसम्म निकै गाह्रो भएको थियो। नानी जन्मिए पछि त होस् नै नभएको जस्तो भयो। जेठी छोरी र माइली छोरी बिच १७ महिनाको उमेर अन्तर छ। अनि कान्छी छोरी चैँ माइली भन्दा पाँच वर्ष पछि जन्मिएको।

एक पछि अर्को बच्चा भयो। अनि आफूलाई समय दिने, पढ्ने भन्ने नै भएन। दुई जना छोरी भए पछि चैँ एउटा छोरा होस् भन्ने हाम्रो चाहना थियो। त्यै भएर तेस्रो सन्तान योजना गरेर नै जन्माएका हौँ। तर तेस्रो पनि छोरी भयो। सानो-सानो बच्चा एकै चोटि हेर्न पर्दा गाह्रो भएको थियो। त्यै भएर मेरो आमाले जेठी छोरीलाई आफैसँग राख्नु भयो। बच्चालाई दूध खुवाउँदै गरेको आमाको पेटमा अर्को गर्भ रहे पछि दूध पनि नआउने रहेछ।

आमाको दूध नआउने, उसले बट्टाकै दूध खाइरहेको भएर म सँग टाढा राख्न धेरै गाह्रो भएन। माइली छोरी जन्मिने बेलामा फूलपाती थियो। श्रीमानलाई सन्चो नभएको कारण हामी धर्मपथमा जँचाउन गएका थियौँ। मलाई पनि पेट दुखेको जस्तो भयो। दशैंमा गाडी पनि धेरै नचल्ने। अनि हामी हिँडेरै घर पुग्यौँ। घर पुगेको केही घण्टामै मैले माइली छोरीलाई जन्म दिएँ।

आफ्नै घरेलु काम गरेको भएर मैले छोरीहरूलाई राम्रो सँग स्याहार्न पाएँ। सबैलाई तीन वर्षसम्म दिनका दिन आफैले तेल लगाउँथे। सुत्केरी स्याहार पनि आमा भएको कारण धेरै राम्रो भयो। पहिला म पातली थिएँ। सुत्केरीपछि दिनको चार पटक भात खाएर यसरी मोटाएको हुँ।

हामी नेवारहरूको चलनमा सुत्केरी छोरी महिनौँसम्म माइतीमा बस्छन्। माइतीमा तीन/साढे तीन महिना म पनि बसेँ। आमा भनेको के हो भनेर मेरो छोरी भए पछि बुझेँ। त्यसमाथि हाम्रो त एकल आमा। यति धेरै छोरीहरूलाई कसरी हुर्काउनु भयो होला भनेर आमाप्रति झन् बढी श्रद्धा बढ्यो। ठुलो छोरी १२ कक्षासम्म मेरो माइतीमै बसेर हुर्कियो।

छोरीहरू हुर्किँदै गर्दा मेरो साथी पनि भयो। उनीहरू सानैदेखि एकदम बुझ्ने। ठुलो छोरीहरूले बहिनीहरूलाई खुब माया गर्ने। कान्छी छोरीको समयमा छोरा नै हुन्छ जस्तो लागेको थियो। छोरी नै भयो। आमालाई त माया नै लाग्ने भयो नि। तर कहिलेकहीँ ‘अहिले पनि छोरी नै पायो ?’ भन्दा अलि मन खिन्न हुने रहेछ।

तर हामीले छोरीलाई नराम्रो अनुभव गर्न कहिले पनि दिएनौ। तेस्रो सन्तान हुँदा जे भए पनि हामी हस्पिटलमै जन्माउने, अर्को चैँ नजन्माउने भनेर औषधी गर्न पनि गएका हौँ। एउटा आमालाई आफ्नो सन्तान जति भए पनि माया लाग्ने नै रहेछ।

दुई जना सन्तान घरमै जन्म दिएको मलाई कान्छीलाई हस्पिटलमा जन्माउँदा सजिलो भएको जस्तो लाग्यो। आफ्नो दूध नआए पछि बट्टाको दूध बनाउँदा बच्चा सुतिसकेको हुन्थ्यो। त्यसले गर्दा मलाई निकै गाह्रो भएको थियो। अरू त सब सहज रूपमा हुँदै गयो।

मेरो ठुली छोरी आर्मी हो। अहिले वीर हस्पिटलबाट मास्टर गरिरहेको छ। उ रेडियोग्राफर हो। माइली छोरी पनि फार्मेसीमा कोरियाबाट पिएचडी गर्दै छ। कान्छी छोरीले पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियर पढेकी छिन्। मैले पढ्न नपाए पनि मेरो छोरीहरूले धेरै पढे। उनीहरूले छात्रवृत्तिमा नाम निकालेर आफै पढे। उनीहरूको मिहेनत देखेर निकै गर्व लाग्छ।

असार १५, २०८२ आइतबार १७:०२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।