चाँडै मनसुन आउँदा असार भयो रमाइलो, कर्णालीमा ४० प्रतिशत रोपाइँ सकियो

सुर्खेत : कर्णाली प्रदेशमा मध्य असारसम्म ३९ दशमलव १४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। मौसमले साथ दिएपछि यस वर्ष कर्णालीका सबैजसो भूभागमा समयमै धमाधम रोपाइँ भइरहेको हो। आकाशे पानीको भर पर्नुपर्ने अधिकांश ठाउँमा समेत रोपाइँ सकिएको छ।
प्रदेश कृषि विकास निर्देशनालयका अनुसार असार १३ भित्रै करिब ४० प्रतिशत रोपाइँ सकिएको हो। निर्देशनालयका सूचना अधिकारी टेकराज रेग्मीले त्यसयता दुई दिनमा सुर्खेत लगायतका जिल्लामा उल्लेखनीय रोपाइँ तथ्याङ्क बढिसकेको बताए।
‘शनिवार र बिदाका कारण दुई दिनको तथ्याङ्क अद्यावधिक गर्न सकेका छैनौँ। यो दुई दिनअघिको विवरण हो, त्यसयताको विवरण बाँकी छ। ४० प्रतिशतमा वृद्धि भइसकेको छ’ उनले भने।
निर्देशनालयले दिएको जानकारी अनुसार जुम्ला, हुम्ला र डोल्पामा अहिलेसम्म ९० प्रतिशत रोपाइँ सकिएको छ भने जाजरकोटमा सबैभन्दा कम १७ प्रतिशत रोपाइँ भएको छ। यस पटक मनसुन चाँडै सक्रिय भएकाले रोपाइँ पनि छिटै सुरु भयो। पहाडी जिल्लाका धेरैजसो ठाउँमा रोपाइँ भइसकेको सूचना अधिकारी रेग्मीले बताए।
कर्णालीमा झन्डै ४१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ। जसमध्ये करिब २९ हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने काम सकिएको छ।
यसैबिच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताए। कृषिमा आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने र त्यसका लागि परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणालीको अवलम्बन गर्न सके अहिलेको अवस्था बदल्न सकिने मुख्यमन्त्री कँडेलको भनाई छ।
आइतबार वीरेन्द्रनगरमा अखिल नेपाल किसान महासङ्घ जिल्ला कमिटी सुर्खेतले आयोजना गरेको २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा बोल्दै मुख्यमन्त्री कँडेलले कृषिलाई जीविकोपार्जनको माध्यम मात्र नभई आम्दानी र रोजगारीको स्थायी स्रोतका रूपमा कृषि पेसालाई विकास गर्नुपर्ने उल्लेख गरे।
असार १५, २०८२ आइतबार १५:३१:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।