अर्यालले म चोरेर खाने मान्छे होइन भन्दा खतिवडाको आपत्ति

अर्यालले म चोरेर खाने मान्छे होइन भन्दा खतिवडाको आपत्ति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीमा आफू संलग्न रहेको भन्ने आरोपको खण्डन गरेका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले सुमेरे टुर एण्ड ट्राभल्स आफ्नो कम्पनी भए पनि त्यसमार्फत एक जना पनि भिजिट भिषामा विदेश गएको प्रमाण देखाउन चुनौती दिए। ‘ म केही गरेर खाने मान्छे हुँ, चोरेर होइन, यदि कसैले प्रमाण दिन्छ भने म जिम्मा लिन तयार छु, नभए संसद्को रेकर्डबाट आरोप हटाइनुपर्छ,’ उनले भने।

‘राजनीतिलाई पेसा बनाएर देश दोहन गरिरहेका मानिसहरूले व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाइरहेका छन्,’ अर्यालले भने।

अर्यालले आइतबार प्रतिनिधिसभामा बोल्दै भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीविरुद्धको आन्दोलन जारी रहेको बताए। उनले सरकारलाई गम्भीर नभएको आरोप लगाउँदै आफ्ना मागप्रति संसद्‌को बेवास्ताप्रति असन्तुष्टि व्यक्त गरे।

‘३३ दिनदेखि आन्दोलन जारी छ, तर सरकारको चासो देखिँदैन,’ उनले भने, ‘काम गरेर खानेलाई चोरेर खानेले जवाफ दिनुपर्ने अवस्था आएको छ।’ 

सांसद अर्यालले आफ्नो भनाइ राखिरहँदा कांग्रेस सांसद् रामहरि खतिवडाले आपत्ती जनाए। खतिवडाले आक्रामकरूपमा भने- चोरको खुट्टा काट् भन्दा माननीयहरू खुट्टा झिक्नुहुन्छ । हामीले कसैको पनि नाम लिएका थिएनौं । हामीले निष्पक्ष छानबिन गर्नुपर्छ मात्र भनेका थियौं । यस्ता कुरा रेकर्डबाट हटाउनका लागि भनेर भर्खरै बोलेका शब्द रेकर्डबाट हटाइयोस् ।

रास्वपाले मानव तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय समिति वा उच्चस्तरीय आयोग गठन गर्न माग गर्दै आएको छ। 

असार १५, २०८२ आइतबार १४:४१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।