ब्रजेश्वरी इन्डस्ट्रिज बन्यो बीआईएसको प्रमाणपत्र पाउने पहिलो बेबी हाइजिन निर्माता कम्पनी, भारतमा पुनः डायपर निर्यात सुरू

ब्रजेश्वरी इन्डस्ट्रिज बन्यो बीआईएसको प्रमाणपत्र पाउने पहिलो बेबी हाइजिन निर्माता कम्पनी, भारतमा पुनः डायपर निर्यात सुरू

काठमाडौं : नेपालको अग्रणी हाइजिन तथा शिशु डायपर निर्माता कम्पनी ब्रजेश्वरी इन्डस्ट्रिज प्रा.लि.ले भारतीय मानक ब्यूरो (बीआईएस) को प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै ब्रजेश्वरी इन्डस्ट्रिज यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली बेबी हाइजिन निर्माता कम्पनी बनेको छ।

ब्रजेश्वरी समूहका अध्यक्ष तथा दूरदर्शी उद्यमी श्री एस.पी. ढकाल द्वारा २०१८ मा स्थापना गरिएको यस कम्पनीले नेपालमा बेबी हाइजिन उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएको छ।

सुरुवातमा करिब ६० करोड रुपैयाँको लगानीबाट सुरु भएको यस कम्पनीले निरन्तर आधुनिक प्रविधि, उच्च गुणस्तरका कच्चा पदार्थ, र विश्वस्तरीय उत्पादन विधिमा लगानी गर्दै आएको छ।

"न्यानो" र "टेन्डर टच" ब्राण्डमार्फत ब्रजेश्वरी इन्डस्ट्रिज नेपाली बजारमा विश्वसनीय शिशु डायपर र हाइजिन उत्पादनहरूको रूपमा स्थापित भएको छ। कम्पनीले सन् २०२३ र २०२४ मा नेपालबाट शिशु डायपर निर्यातमा सबैभन्दा ठूलो योगदान पुर्या्एको भनेर पनि सम्मान प्राप्त गरेको छ।

भारत सरकारले आयातित बेबी हाइजिन उत्पादनमा बीआईएस प्रमाणपत्र अनिवार्य गरेपछि विगत ६ महिनादेखि निर्यात प्रक्रिया रोकिएको थियो। बीआईएसका कडा मापदण्ड र उच्च अस्वीकृति दर हुँदाहुँदै पनि ब्रजेश्वरीले ती सबै प्रक्रिया छिटो र प्रभावकारी रूपमा पार गरी प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो।

"कडा परीक्षण र सम्पूर्ण नियम पालना गरिसकेपछि हामीले बीआईएस प्रमाणपत्र प्राप्त गरेका छौं भन्ने कुरामा हामी गौरवान्वित छौं। यो हाम्रो कम्पनीका लागि मात्र नभएर सम्पूर्ण नेपाली उत्पादन उद्योगका लागि नयाँ अध्याय हो," अध्यक्ष ढकालले भने।

असार १५, २०८२ आइतबार १३:३६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।