असारे भाकासँगै खेतमा रमाएको बुटवल (फोटो फिचर)

असारे भाकासँगै खेतमा रमाएको बुटवल  (फोटो फिचर)

बुटवल : असार १५ को अवसरमा किसान महासंघ लुम्बिनी प्रदेशले बुटवल-१९ मा रोपाइँ गरेको छ। नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा खेतमा रोपाइँ गर्दै असारे भाकामा रमाइलो गरियो।

कार्यक्रममा सभापति पुनले किसानलाई लक्षित अनुदान अझै पनि वास्तविक किसानको हातमा नपुगेको गुनासो गर्दै, कृषि नीतिमा सुधारको खाँचो रहेको बताए।

किसान महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष रिता केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोपार महिलाहरूले असारे गीत गाउँदै परम्परागत शैलीमा धान रोपेका थिए।

लुम्बिनी प्रदेशमा असार १५ पछि मात्रै रोपाइँ सुरु भएको हो। अहिले सम्म जम्मा १५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपिएको छ। प्रदेशका १२ जिल्लामा जम्मा ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ३ लाख ५० हजार हेक्टरमा धान खेती हुने गर्छ। तर अहिलेसम्म केवल ३० हजार २५० हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ।

प्रदेशभर रोपाइँको अवस्था कमजोर रहँदा प्यूठान जिल्लामा भने उत्साहजनक प्रगति देखिएको छ। कुल ७ हजार ५२५ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ३१८ हेक्टरमा रोपाइँ सकिँदै ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

असार १५, २०८२ आइतबार १२:५२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।