धान रोप्दै कृषिमन्त्रीले भने- सरकारले किसानको हितमा दृढतापूर्वक काम गरिरहेको छ

पाटन : कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले सरकार किसानको हितमा दृढतापूर्वक काम गरिरहेको बताएका छन्।
‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा आज आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मन्त्री अधिकारीले सरकार स्रोतसाधनको सीमितता हुँदाहुँदै पनि किसानको पक्षमा काम गर्न कटिबद्ध रहेको बताए।
“असारमा हिलोमा टेक्ने हाम्रो संस्कार हो। उत्पादनमा जोड नदिएसम्म समृद्धिको बाटो हिँड्न सकिन्न। म आफैले घैया धान र जुम्लाको मार्सी चामल उत्पादन गर्छु, त्यसको स्वाद अविस्मरणीय हुन्छ,” मन्त्री अधिकारीले भने, “हामी आगामी दुई वर्षभित्र धानमा आत्मनिर्भर बन्नेछौँ। यो लक्ष्य पुरा गर्न सरकार शब्दमै होइन, काममै प्रतिबद्ध छ।”
धान दिवस मनाउँदा आगामी वर्षसम्ममा उत्पादनमा उल्लेखनीय वृद्धि हुनेछ भन्ने अपेक्षा राख्दै उनले किसानका सुझावलाई प्राथमिकता दिइने उल्लेख गरे। “अब मलकै कारण रोपाइँ रोकिने अवस्था अन्त्य हुन्छ,” मन्त्री अधिकारीको भनाइ थियो।
त्यसै कार्यक्रममा बोल्दै संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत विकास समितिका सभापति कुसुम थापाले किसान सशक्त नबनी देश खाद्यमा आत्मनिर्भर हुन नसक्ने बताइन्। “संसद्भित्र आवश्यक नीतिगत छलफल गरेर सरकारले कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ,” उनले भनिन्।
कृषि मन्त्रालयका सचिव दीपककुमार खरालले किसानको योगदानको उच्च सम्मान गर्दै अब उत्पादन, खपत र निर्यात सन्तुलनमा ल्याउनुपर्नेमा जोड दिए। “भू–उपयोग नीतिका कारण खेतीयोग्य जमिन आवासीय क्षेत्रमा परिणत भएको छ, यो समस्यानै हो,” खरालले भने।
असार १५, २०८२ आइतबार १२:१७:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।