असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाडौं : हरेक वर्ष झैँ आज असार १५ गते देशभर ‘राष्ट्रिय धान दिवस’ धान रोपेर र दही चिउरा खाएर हर्षोल्लासपूर्वक मनाइँदैछ। किसान खेतमा काम गरेर थकित भएका बेला शक्ति प्राप्तिका लागि दही चिउरा खाने परम्परा छ।

दही चिउराले शरीरमा शीतलता दिनुका साथै उर्जा पनि दिने विश्वास रहिआएको छ। यही कारण असार १५ लाई ‘दही चिउरा खाने पर्व’ को रूपमा समेत लिइन्छ।

खेतीपाती बाहेक अन्य पेशा व्यवसायमा रहेका नेपालीहरू पनि आजको दिन दही चिउरा खाएर पर्व मनाउने चलन बढ्दो छ।

नेपाली संस्कृतिमा दही शुभता र स्वास्थ्य दुवैका प्रतीकका रूपमा स्थापित छ। कुनै पनि शुभकार्यका लागि निस्कनुअघि निधारमा रातो टीका र दहीअक्षता लगाउने चलन प्रचलनमा छ। घरबाट निस्कँदा सगुनस्वरूप दही खुवाउने परम्परा अझै जीवित छ।

दही स्वास्थ्यका दृष्टिकोणले पनि अत्यन्त लाभदायक मानिन्छ। आयुर्वेदमा त भोजनपछि दही मथेर बनाएको मोही पिउनु स्वास्थ्यका लागि अत्यन्त उपयोगी हुने उल्लेख छ – ‘‘भोजनान्ते पिबेत् तक्रं, वैद्यस्य किं प्रयोजनम्।” पखाला लाग्दा पनि दही चिउरा औषधिक रूपमा उपयोग हुने जनविश्वास छ।

एक जनश्रुति अनुसार गुरु गोरखनाथले पृथ्वीनारायण शाहलाई दही खुवाएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए।

विक्रम संवत २०६१ मङ्सिर २९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। कृषिप्रधान मुलुक नेपालमा असार महिनालाई खेतीपातीको दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। वर्षभरको छाकका लागि किसानहरू यही महिना खेतमा व्यस्त हुन्छन्।

धान दिवसको दिन लोकभाकामा दोहोरी गाउँदै, हिलोमा रमाउँदै धान रोप्ने परम्परा झनै जीवन्त बन्दै आएको छ। "छुपु छुपु हिलोमा धान रोपेर छोडौँला…" जस्ता भाकाहरू खेतमा गुञ्जिरहन्छन्। युवायुवतीहरू खेतको गरामा हिलो छ्यापाछ्याप गर्दै रमाइलो गर्ने दृश्य प्रायः असार १५ मा देखिन्छ।

नेपाली समाजमा असारमा कम्तीमा एकपटक हिलोमा पस्नुपर्ने मान्यता पनि व्याप्त छ।

यस वर्ष असारको मध्यसम्म आइपुग्दा पनि देशभर पर्याप्त वर्षा नहुनुका कारण धेरै ठाउँमा धान रोपाइँ हुन सकेको छैन। साथै, कतिपय स्थानमा रासायनिक मलको अभाव भएको किसानको गुनासो पनि सुनिएको छ। तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने देशभर पर्याप्त मात्रामा मलको मौज्दात रहेको दाबी गरेको छ।

कृषकहरूको श्रम, हिलो, र परम्पराको उत्सवको रूपमा मनाइने असार १५ अहिले राष्ट्रिय धान दिवसका रूपमा अझ व्यापक र सांस्कृतिक उत्सवको रूपमा स्थापित हुँदै गएको छ।

असार १५, २०८२ आइतबार ०८:४३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।