रासायनिक हतियार प्रयोगको आरोपमा अमेरिकाद्वारा सुडानमाथि प्रतिबन्ध

रासायनिक हतियार प्रयोगको आरोपमा अमेरिकाद्वारा सुडानमाथि प्रतिबन्ध

काठमाडौं : रासायनिक हतियार प्रयोग गरेको आरोपमा अमेरिकाले सुडान सरकारमाथि कडा प्रतिबन्ध घोषणा गरेको छ। सुडानमा जारी गृहयुद्धमा खार्तुमस्थित सेनाले रासायनिक हतियार प्रयोग गरेको प्रमाण भेटिएको दाबी अमेरिकाले गरेको हो।

शुक्रबार अमेरिकी फेडरल रजिस्टरमा प्रकाशित सूचनाअनुसार अबदेखि अमेरिकाबाट सुडानमा निर्यात, हातहतियार बिक्री र सरकारी आर्थिक सहायता कम्तीमा एक वर्षका लागि रोकिएको छ। यद्यपि, अत्यावश्यक मानवीय सहायता, खाद्यान्न र कृषिजन्य वस्तु भने प्रतिबन्धको दायरामा पर्ने छैनन्।

अमेरिकाले भनेको छ, “रासायनिक हतियारको प्रयोग अन्तर्राष्ट्रिय सन्धिद्वारा निषेध गरिएको छ। सुडानले त्यसको उल्लंघन गरेको देखिएकाले हामीले कदम चालेका हौं।” साथै, केही सहायता क्षेत्रमा राष्ट्रिय सुरक्षाको कारण देखाएर आंशिक छूट दिइने उल्लेख गरिएको छ।

अमेरिकी विदेश मन्त्रालयले अघिल्लो महिना नै प्रतिबन्धको पूर्वसूचना दिँदै सुडान सरकारलाई रासायनिक हतियार कन्भेन्सनअनुसारको दायित्व पूरा गर्न आग्रह गरिसकेको थियो।

न्युयोर्क टाइम्सले जनवरीमा प्रकाशित गरेको एक रिपोर्टमा सुडानी सेनाले अर्धसैनिक गुट र्यापिड सपोर्ट फोर्स सँगको भिडन्तका क्रममा दुर्गम क्षेत्रमा कम्तीमा दुईपटक रासायनिक हतियार प्रयोग गरेको उल्लेख गरिएको थियो। स्रोतले उक्त हतियार क्लोरिन ग्यास जस्तो देखिएको र यसले गम्भीर स्वासप्रश्वास समस्या निम्त्याएको जनाएका थिए।

यता, सुडानी सरकारले भने आफूमाथि लागेको रासायनिक हतियार प्रयोगको आरोप अस्वीकार गर्दै आएको छ।

हालसम्म सुडानका सैन्य नेता अब्देल फतह अल बुरहान र उनका प्रतिद्वन्द्वी तथा आरएसएफ प्रमुख मोहम्मद हमदान डग्लो दुवै अमेरिकी प्रतिबन्धको दायरामा परिसकेका छन्, जसले नयाँ प्रतिबन्धको प्रभाव सीमित हुने अनुमान गरिएको छ।

सन् २०२३ को अप्रिलदेखि सुडानमा सेना र आरएसएफ बीच सशस्त्र द्वन्द्व चर्किएको हो। यस भीषण युद्धका कारण दशौँ हजार मानिसको मृत्यु भइसकेको छ भने १ करोड ३० लाखभन्दा बढी विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघले यस संघर्षलाई विश्वकै सबैभन्दा गम्भीर मानवीय संकटहरूमध्ये एक मानेको छ।

असार १५, २०८२ आइतबार ०७:४०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।