प्रतिनिधिसभा बैठक बस्दै, निजामती सेवा विधेयक पारित हुने सम्भावना

प्रतिनिधिसभा बैठक बस्दै, निजामती सेवा विधेयक पारित हुने सम्भावना

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा सुरु हुने छ।

आजको बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ पारित गर्ने कार्यसूची तय गरिएको छ। मुलुक संघीय संरचनामा गए पनि प्रशासनिक संघीयता कार्यान्वयनमा चुनौती रहँदै आएको भन्दै सो विधेयक ल्याइएको हो। असार ३ गतेको बैठकमा विधेयक पारित गर्ने तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आजको बैठकमा "राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्" भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। त्यसपछि सांसदहरूले धारणा राख्नेछन् र विधेयक पारित हुने अपेक्षा गरिएको छ।

प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रियसभामा पठाइनेछ। त्यहाँबाट पनि पारित भएपछि प्रतिनिधिसभामा फिर्ता आउने र सभामुखमार्फत प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिनेछ। राष्ट्रपतिको प्रमाणीकरणपछि विधेयक कार्यान्वयनमा आउनेछ।

यस्तै, राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १२:१५ बजे बस्दैछ। उक्त बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गतका १४ वटा मन्त्रालयका बजेट शीर्षकमाथि समूहगत छलफल हुने सम्भावना रहेको छ।

असार १५, २०८२ आइतबार ०७:३१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।