गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
ai image

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय भएकाले आज दिउँसो देशका अधिकांश स्थानमा आकाश आंशिकदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ती प्रदेशहरूका केही स्थान तथा अन्य प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा समेत केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति पनि देशभर आकाश आंशिकदेखि पूर्ण बदली रहने र अधिकांश पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ। विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको बताइएको छ।

असार १५, २०८२ आइतबार ०७:०३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।