विद्याको बदनियत

महन्थ ठाकुरले नेपाली कांग्रेस छाडेसँगै मधेसमा पार्टी कमान्डर हुने सहज अवसर हुँदाहुँदै पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको आग्रह टार्न नसकी डा रामवरण यादव राष्ट्रपतिको उम्मेदवार बने।
माओवादीसहितले रामराजा प्रसाद सिंहलाई अगाडि बढाएकाले डा यादवका लागि राष्ट्रपति निर्वाचित हुन असम्भव समान थियो।
गिरिजाप्रसाद आफैँ नेपालको पहिलो राष्ट्रपति बन्न चाहन्थे। तर माओवादीले धोका दिएपछि उनले पराजित हुने जोखिम लिन चाहेनन्। कांग्रेसका अन्य नेता पनि जोखिम मोल्न तयार नभएपछि डा यादव उम्मेदवार बन्न पुगे।
राजनीतिका चतुर खेलाडी गिरिजाप्रसादले असम्भवलाई सम्भव बनाए। डा यादव नेपालको पहिलो राष्ट्रपति भए।
राजनीतिमा राम्रै अवसर नभएको हैन। तर पूर्व राष्ट्रपति भएपछि उनले पदीय सम्मानका लागि कांग्रेससँग तोडिएको राजनीतिक सम्बन्ध जोडेनन्। कांग्रेसको औपचारिक फोरममा समेत रुचि देखाएनन्। राष्ट्रपतिको रूपमा उनका केही निर्णय विवादित नभएका हैनन्। तर देशको सर्वोच्च पदको मान राखे।
'लौरो' उठाए पनि निर्वाचित हुने बेलामा एक पटक हैन दुई पटक राष्ट्रपति भएकी विद्या भण्डारी दुई वर्ष पनि पदहीन बस्न सकिनन्।
पूर्व राष्ट्रपति मात्र हो र, नेपालको पहिलो महिला राष्ट्रपतिको गौरवमय पहिचान भन्दा उनलाई एमाले सदस्य पद मूल्यवान् लाग्यो। 'देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो' भन्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिन्।
उनी सक्रिय राजनीतिमा आउनु योजनाबद्ध घटनाक्रम थिएन। मदन भण्डारीको दुर्घटनामा मृत्यु भएसँगै उनी सक्रिय राजनीतिमा उत्रिइन्। यो यात्रामा उनी सांसदसँगै मन्त्रीसम्म भइन्।
सक्रिय राजनीतिबाट राष्ट्रपतिको यात्रा पनि उस्तै अकस्मात् भएको थियो उनको। पार्टी उपाध्यक्ष भए पनि संसदीय राजनीतिमा असफल भइसकेकी थिइन्। स्वास्थ्यसँगै राजनीतिक यात्रा पनि अनुकूल नभएको बेलामा आएको अवसर छाड्न चाहिनन् उनले।
राजनीतिमा नफर्किने सोचले नै उनले राष्ट्रपति पद स्विकारेकी थिइन्। तर एकाएक देश र जनताको हितमा काम गर्न भन्दै राष्ट्रपतिका लागि छाडेको एमालेको सदस्यता पुन लिइन्।
भण्डारीले गर्ने देश र जनताको हित कुन शैलीको हुन्छ त्यो त राष्ट्रपतिको रूपमा नै देखाइसकेकी छिन्। आफ्नाका फाइदाका लागि पटक-पटक गैर संवैधानिक निर्णय गर्नसम्म नचुक्ने, पार्टी पनि हैन, निकट व्यक्तिको फाइदाका लागि देशको सर्वोच्च पदको पटक पटक दुरुपयोग गर्न नहिच्किचाएको घटना पुरानो भइसकेको छैन।
त्यसैले परिणाम उनको नाममा पहिलो महिला राष्ट्रपतिको रेकर्ड मात्रै छैन, सर्वोच्चबाट दुई पटक निर्णय अवैध घोषित राष्ट्रपतिको रेकर्ड समेत छ।
एमालेमा सक्रिय हुने विद्याको निर्णय सामान्य सदस्यको रूपमा चित्त बुझाउन पक्कै हैन। उनको यो निर्णयको लक्ष्य पार्टीको सर्वोच्च पद हो भन्ने लुकेको छैन।
अनि देशको सर्वोच्च पदमा पुगिसक्दा पनि पार्टीको पदप्रति उनमा पलाएको लोभको कारण हिजो उनलाई जसले राष्ट्रपति बनायो उनकै व्यवहार हो भन्ने पनि प्रस्टै छ।
चुनौतीहीन भएसँगै एमालेमा फैलिएको ओलीराजबाट प्रताडित र राज्यसत्ता र पार्टीमा अवसर नपाएको एक समूह संरक्षकको खोजीमा थिए। उनीहरूले देशको अभिभावक भइसकेकी भण्डारीमा आफ्नो पार्टीगत अभिभावक हुने सम्भावना देखे।
ती राष्ट्रपति निवासबाट उनी निस्किएसँगै उनको चोटा कोठामा याचना बोकेर पुगे।त्यसैको परिणाम उनी राजनीतिमा सक्रिय हुने चरणसम्म पुगिन्।
लामै समय राज्य सत्तामा राज गर्ने रणनीतिमा पहिलो र दोस्रो ठूलो कम्युनिस्ट पार्टी एमाले र माओवादी एक भएका थिए। दुवै दल मिलेपछि करिब ४० लाख मत एक ठाउँमा आउँदा यो रणनीति सफल पनि हुन्थ्यो।
एकीकृत दलको प्रभाव पहिलो निर्वाचनमा देखिएकै पनि थियो। अनि भण्डारी राष्ट्रपति हुनुमा त्यही एकीकृत कम्युनिस्ट पार्टीको उदय नै मुख्य कारण थियो।
तर नेकपामा एकै प्लेनको दुई पाइलटको सहयात्रा त्यति लामो र सौहार्द हुन सकेन। केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको मनमुटावले नेकपाको रूपमा उदाएको पार्टी ढल्यो। माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्कियो। एमाले त पूर्ववत् अवस्थामा फर्कँदा सग्लो पनि रहन सकेन। माधव नेपालसहितको एक समूह एकीकृत समाजवादी पार्टीमा सक्रिय भए।
एकीकृत कम्युनिस्ट पार्टी निर्माणको प्रयास रोकिएको छैन, जारी छ। तर एमालेको अध्यक्षमा केपी ओली रहेसम्म यो सम्भव देखिएन।
चीन नेपालमा ठूलो र बलियो कम्युनिस्ट पार्टीको पक्षमा रहेको लुकेको विषय हैन। हिजोको नेकपामा उसको भूमिका देखिएकै हो। यसका लागि एमाले, माओवादी अनि एकीकृत समाजवादीलाई एकीकृत गर्न अनिवार्य छ। यसका लागि एमालेको नेतृत्व बदल्नु अनिवार्य देखियो। त्यसको उपर्युक्त पात्र भण्डारी देखिइन्।
पार्टीभित्र ओलीको निरंकुशराजको विकल्प खोजिरहेका नेता, कार्यकर्ता अनि एकीकृत कम्युनिस्ट पार्टी चाहने मित्र शक्तिको साथले भण्डारी हौसिइन्। त्यसमा ओलीप्रतिको अनुदार भारतीय दृष्टिकोणले काम गर्ने नै भयो।
अनि पूर्व राष्ट्रपतिको रूपमा सरकारी भत्ता लिएर बस्नु भन्दा बलियो कम्युनिस्ट पार्टीको अध्यक्ष भएर सत्ता शक्तिको उपभोग गर्न लोभिइन् उनी। र, यो लोभमा उनले राष्ट्रको अभिभावक जस्तो मानको पदको अपमान गरिन्।
राजनीतिमा फर्कँदा एमालेमा ओलीराज अन्त्य गर्न चाहने एमालेजनमा हर्ष बढाई हुने नै भयो। मित्र शक्ति आफ्नो रणनीतिले बाटो समातेकोमा दंग होलान्। तर हिजो भण्डारीको मुहारमा आफ्नो अभिभावक देखेका नागरिकले भने अपमानित महसुस गर्नु स्वाभाविकै हो। भण्डारीको महत्त्वाकाङ्क्षामा बदनियत देखियो। राष्ट्रपति पदको सम्मानमा धक्का लाग्यो।
असार १४, २०८२ शनिबार २३:४९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।