इजरायली आक्रमणमा मारिएका इरानी अधिकारीहरूको राजकीय सम्मानका साथ अन्त्येष्टि

इजरायली आक्रमणमा मारिएका इरानी अधिकारीहरूको राजकीय सम्मानका साथ अन्त्येष्टि

तेहरान : इजरायलसँगको पछिल्लो १२ दिने युद्धमा मारिएका वरिष्ठ इरानी अधिकारी, वैज्ञानिक र कमान्डरहरूलाई शनिबार राजधानी तेहरानमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ। मृतकमध्ये केही सशस्त्र बलका शीर्ष अधिकारी, आणविक वैज्ञानिक, महिला तथा बालबालिका पनि थिए।

राजधानीमा आयोजित भव्य अन्त्येष्टि समारोहमा हजारौँ नागरिक सहभागी भए। प्रदर्शनकारीहरूले ‘अमेरिका मुर्दावाद’, ‘इजरायल मुर्दावाद’ लगायतका नारासहित मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरे। टेलिभिजनले प्रसारण गरेका दृश्यहरूमा ‘बुम, बुम, तेल अभिभ’ लेखिएका ब्यानर बोकेर हजारौँ मानिस मृतकको तस्वीरसहितको प्लेकार्ड लिएर सडकमा उत्रिएको देखिन्थ्यो।

इरानी सरकारी टेलिभिजनले इजरायलमाथि प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्रको नक्कल राखिएको शवयात्रा प्रसारण गर्यो। कफिनहरूमा राष्ट्रिय झन्डा ओढाइएको थियो। मृतकमध्ये मेजर जनरल मोहम्मद बागेरी, आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरान्ची, रिभोल्युसनरी गार्डका कमाण्डर होसेन सलामीजस्ता उच्च तहका अधिकारी पनि छन्।

अन्त्येष्टिमा राष्ट्रपति मसूद पेजेस्कियान, र सर्वोच्च नेता खामेनीका सल्लाहकार रियर एडमिरल अली शमखानी पनि सहभागी थिए। युद्धको समयमा घाइते भएका शमखानी सहाराको सहायतामा समारोहमा देखिएपछि भिडमा थप आवेग र आक्रोश बढेको देखिएको थियो। तर, सर्वोच्च नेता खामेनी स्वयं भने उपस्थित भएनन्। उनले विगत बिहीबार भिडियोमार्फत् सम्बोधन गर्दै युद्धविरामपछि इरानले ‘विजय’ हासिल गरेको घोषणा गरेका थिए।

शनिबार अन्त्येष्टि गरिएका करिब ६० मृतकमध्ये चार जना महिला र चार बालबालिका पनि थिए। युद्धको प्रारम्भिक चरणमै मारिएका रिभोल्युसनरी गार्डका पूर्वप्रमुख होसेन सलामीलाई आइतबार छुट्टै समारोहमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।

असार १४, २०८२ शनिबार २२:२९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।