रुकुम पश्चिमबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिम : रुकुम पश्चिमकी एक गर्भवती महिलाको स्वास्थ्य जटिल भएपछि हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।
बाँफीकोट गाउँपालिका–२ की ४० वर्षीया नन्दकला खड्का खत्रीलाई शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ऋषी पाठकले जानकारी दिए।
पाठकका अनुसार नन्दकलाको पाठेघरको नली (फालोपियन ट्युब) मा गर्भ बसेको थियो। बच्चा हुर्कँदै जाँदा नली फुटेर आन्तरिक रक्तश्राव भएको अवस्थामा उनलाई जिल्ला अस्पताल ल्याइएको थियो।
आज बिहान भर्ना गरिएकी नन्दकलाको जिल्ला अस्पतालमै शल्यक्रिया सफलतापूर्वक गरिएको थियो। तर, शल्यक्रियापछि थप सघन उपचार आवश्यक परेपछि उनलाई तत्काल सुर्खेत रेफर गरिएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. महेश चौलागाईंले बताए।
असार १४, २०८२ शनिबार २१:१०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।