विद्याको ‘कमब्याक’मा ओलीको बेवास्ता, आफ्ना कुरा सुनाए उनका कुरा नसुनेरै स्पेन उडे

विद्याको ‘कमब्याक’मा ओलीको बेवास्ता, आफ्ना कुरा सुनाए उनका कुरा नसुनेरै स्पेन उडे

काठमाडौं : शनिबार भएको मदन भण्डारी फाउन्डेसनको 'जबजका तीन दशक' कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि थिए।

समान्यता औपचारीक कार्यक्रममा प्रमुख अतिथि अन्तिममा बोल्ने गर्छन्। तर आज त्यसो भएन। ओली सुरूमै बोले। आफ्ना कुरा राखेरे कार्यव्यस्तता देखाउँदै कार्यक्रम स्थलबाट बाहिरिए। 

सोहि कार्यक्रमकी विशेष अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थिइन्। भण्डारीले आज विशेष घोषणा गर्दै थिइन्। त्यसैले पनि ओलीले आफ्नो कुरा सुनिदिए हुन्थ्यो भन्ने लाग्नु स्वभाविक नै हो। मञ्चमा बस्दा भण्डारीले ओलीलाई आफ्नो कुरा सुनेर जान आग्रह पनि नगरेकी होइन्। तर ओलीले मानेनन्। 

यो कुरा ओली आफैले मञ्चबाटै भने। भाषणको अन्त्यमा उनले पूर्वराष्ट्रपति भण्डारी तर्फ हेर्दै भने, ‘सम्माननीय पूर्वराष्ट्रपतिज्यूले मेरा पनि कुरा सुन्नुहोस् न भन्नुहुन्थ्यो। तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ। आज मात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएको हो।’ ओली यत्तिमा रोकिएनन्। उनले भने,‘राम्रो बोल्नुहुन्छ, थाहा छ। मलाई थाहा छ– के बोल्नुहुन्छ। त्यसो भएर मैले सुन्न बसिरहनु पर्दैन। मलाई धेरै हतार भएकाले बिचमै बोल्नुपर्ने भयो।’

कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेलाई वामपन्थी आन्दोलनको असाधारण शक्ति भन्दै त्यसलाई कमजोर आँक्ने प्रयास असफल हुने दाबी गरे।

मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले भण्डारीको निधनपछिका दशकलाई चुनौतिपूर्ण समयको रूपमा व्याख्या गरे।

‘जबजको अवधारणा ०४६ सालको महाधिवेशनदेखि अगाडि बढाइएको हो,’ उनले भने, ‘तर त्यसपछि तीन दशकभरिको समय हामीले भण्डारीको अभावमा बितायौं। खासगरी ०५० सालपछि विचार र संगठन दुवै पक्षबाट गम्भीर चुनौतीहरू झेल्नुपर्यो।’

ओलीले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद अहिले पनि सान्दर्भिक रहेको भन्दै वामपन्थी शक्तिहरूका लागि सोभियत संघपछिको समय सहज नभएको बताए। 

उनले एमालेलाई कमजोर देखाउने र पार्टी सिध्याउने नियतसहित केही तत्व सक्रिय भएको आरोप लगाउँदै भने, ‘एमाले आफैँमा एउटा शक्ति हो। विचार, उद्देश्य र प्रतिबद्धताले भरिएको पार्टी हो। त्यसैले दुनियाँको वामपन्थी आन्दोलनमा एमालेको विशेष स्थान छ।’

ओली कार्यक्रम स्थलबाट बाहिरिएपछि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरे। उनले कम्युनिस्ट पार्टीभित्र नेतृत्व अनिर्वाचित हुने र सत्ता हस्तान्तरण नगर्ने प्रवृत्ति हटाउन जबजको सिद्धान्त लागू गर्नुपर्ने बताए। उनले पार्टीभित्रको द्वन्द्वलाई विधिसम्मत तरिकाले प्रकट गर्न नदिँदा भित्री विस्फोट हुन सक्ने चेतावनी समेत दिए।

कार्यक्रमको अन्तिममा विद्या भण्डारी बोलिन्। कार्यक्रम स्थल उनकै पालोको प्रतिक्षामा थियो। जब उनी बोल्न थालिन। ताली बज्न सुरू भयो। 

बोल्दै जाँदा उनले मदन भण्डारीको दुर्घटनालाई सम्झिइन्। ‘कुनैपनि व्यक्तिको युवावयमै निधन हुनु र उसको नाममा संस्था स्थापना गरेर सञ्चालन गर्नुपर्ने परिस्थिति आउनु असाध्यै दुःखको विषय हो। विडम्बना नेपालका एक विचारक जसले मुलुकका निम्ति नयाँ विचार जनताको बहुदलीय जनवाद प्रतिपादन गर्नु भयो, त्यसलाई आफ्नो पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित गराउनु भयो, त्यसमाथि छिमेकी मुलुक भारत तथा चीनको भ्रमण गरेर अन्तर्राष्ट्रिय जगतमा विमर्श चलाउँदै हुनु हुनुहुन्थ्यो र मुलुकमा कम्युनिष्ट आन्दोलनको विकास तथा विस्तारका निम्ति सघन रूपमा कार्यक्रममा सहभागि हुँदै जनता एवम् पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तीव्र पार्दै हुनुहुन्थ्यो, यस्तै राजनीतिक व्यस्तताका बीच उहाँ सवार जीप २०५० साल जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा पर्यो् र उहाँले आफ्नो जीवन गुमाउन पर्यो,’ उनले भावुक हुँदै भनिन्।  

भाषणको अन्त्य तिर पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा औपचारिक रूपमा फर्किएको घोषणा गरिन्। हल तालीले गुञ्जाएमान भयो। उनले एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिइन्।

भण्डारीले भनिन्, ‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु। अब म एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।’

पूर्वराष्ट्रपति भएपछिको विश्राम अवधि टुंग्याउँदै फेरि सक्रिय राजनीतिमा फर्किएको उनले स्पष्ट पारिन्। तर, भण्डारीले यसपटक एमालेभित्र कुनै ‘विशेष महत्वाकांक्षा’ नरहेको बताउँदै भनिन्, ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो।’
कार्यक्रममा उनले जननेता मदन भण्डारीका केही भनाइहरू पनि स्मरण गरिन्- ‘जनता भनेका भगवान हुन्। राजनीतिमा थकाई भन्ने शब्द हुँदैन।’ भन्दै उनले अबको यात्रा पनि यही दर्शनमा आधारित रहने संकेत दिइन्। 

विद्या यी सबै कुरा ओलीकै अगाडि भन्न चाहान्थिन्। तर त्यो पूरा भएन। ओली सुरू देखिनै विद्या राजनीतिमा फर्किने कुरामा सकारात्मक थिएनन्। जुन आजको दृश्यले पनि पुष्टि गर्योै। ओलीलाई थाहा थियो की विद्याले आज यो घोषणा गर्दै छिन्। तर ओलीले यसबारे चुइक्क बोलेनन्। बरू हात हल्लाउँदै स्पेन उडे। ओली संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको सेभियाका लागि उडेका छन्।

असार १४, २०८२ शनिबार २०:२४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।