गण्डकी कप महिला ह्याण्डबलको उपाधि एपिएफलाई

पोखरा : गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ। पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा भएको फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३१-१७ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
विभागीय डर्बीका रूपमा हेरिएको फाइनल खेलमा एपिएफ शुरूदेखि नै आर्मीमाथि हाबी भएको थियो। उपाधिसँगै एपिएफले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता आर्मीले नगद ५० हजार रुपैयाँमा चित्त बुझायो।
शनिबार भएको सेमिफाइनल, तेस्रो स्थानको खेल र फाइनलसहित प्रतियोगिता टुंगिएको हो। सेमिफाइनलमा एपिएफले कोशी प्रदेशलाई २३–२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने आर्मीले गण्डकीलाई २१–१२ ले हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो।
तेस्रो स्थानका लागि भएको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ११–५ ले पराजित गर्दै ३० हजार रुपैयाँ हात पार्यो। पराजित गण्डकीले सान्त्वना स्वरूप २० हजार प्राप्त गर्यो।
असार १२ देखि १४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ८ टिम सहभागी थिए। प्रतियोगितामा आयोजक गण्डकी प्रदेशसहित बागमती, मधेस, लुम्बिनी, कर्णाली प्रदेश र विभागीय टोली एपिएफ तथा आर्मीको सहभागिता रहेको थियो। लिग–कम–नकआउट फारम्याटमा खेल सञ्चालन गरिएको थियो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा घोषित भइन्। यस्तै, एपिएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक तथा एपिएफकै शुशिल अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित भए।
प्रतियोगिता प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धनमा सम्पन्न भएको हो। सह–प्रायोजन बुल्समेन क्लबले र प्राविधिक सहयोग जिल्ला ह्याण्डबल संघ कास्कीले गरेको थियो।
असार १४, २०८२ शनिबार १९:४३:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।