राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन स्पेन गए प्रधानमन्त्री ओली

राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन स्पेन गए प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (एफएफडी–४) मा सहभागी हुन शनिबार स्पेनको सेभियाका लागि उडेका छन्। सम्मेलन यही असार १६ देखि १९ गतेसम्म हुने कार्यक्रम छ।

प्रधानमन्त्री ओली २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन गएका हुन्। राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणामा उनी सम्मेलनमा सहभागी हुन गएका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, मुख्यसचिव एकनारायण अर्यालसहित उच्च सरकारी अधिकारी तथा सुरक्षाकर्मीहरूले बिदाइ गरेका थिए।

सम्मेलनमा विभिन्न देशका सरकार प्रमुख, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्था, वित्तीय तथा व्यापारिक संघसंस्थाका प्रतिनिधि, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसंघका निकायहरूसमेत सहभागी हुनेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालले सम्मेलनमा अल्पविकसित, साना र टापु राष्ट्रका विकास चुनौतीका विषयमा आफ्नो धारणा राख्नेछ। साथै, दिगो विकासका लागि आवश्यक तत्काल तथा दीर्घकालीन लगानीका चुनौतीबारे सम्मेलन केन्द्रित हुनेछ।

स्पेन बसाइका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रका समकक्षी तथा राष्ट्रप्रमुखहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ। उनले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट र प्रधानमन्त्री सान्चेजसँग द्विपक्षीय वार्ता पनि गर्नेछन्।

प्रधानमन्त्री ओलीसँगै गएकाहरूमा उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत रहेका छन्।

प्रधानमन्त्री ओली असार २० गते शुक्रबार अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।

असार १४, २०८२ शनिबार १९:२८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।